Logo

खुलेआम पटका विक्रि वितरण, प्रहरी मुकदर्शक



पश्चिम नवलपरासी, कार्तिक १३ । पश्चिम नवलपरासीमा दिपावली (तिहार) नजिकिएसँगै पटका बिक्री वितरण गर्ने कार्य खुल्लमखुल्ला भईरहेको छ । पटका, भुईचम्पा लगायत विस्फोटक पर्दाथ पड्काउन र विक्रि वितरण गर्न प्रतिबन्ध भएपनि जिल्लाका विभिन्न स्थानमा यसको खुलेआम विक्रि वितरण भईरहेको हो ।

जिल्लाको भारतसँगको मुख्य भन्सार नाका महेसपुर भन्सार नजिकको बजार क्षेत्रमा प्रहरीकै अगाडी विभिन्न प्रकारका पट्का विक्रि वितरण भईरहेपनि प्रहरीले प्रशासनले भने नियन्त्रणमा चासो दिएको छैन् ।

अहिले महेसपुर भन्सार कार्यालय नजिकै प्रहरीकै अगाडी त्रिपाल टाँगेर पटका बिक्रिका लागी राखिएको छ । पट्का विक्रि वितरणमा बालबालिका समेत संलग्न रहेको पाइएको छ ।

प्रहरीले पक्राउ गर्न आएपनि केटाकेटी भनेर त्यसै छाड्ने भएकाले धेरै अभिभावकलेनै बालबालिकालाई पट्का विक्रि गर्न पसल खोलिदिने गरेको पाईएको हो ।

मुख्य भन्सार नाका महसेपुरमै पटाका पाईएपछि भारततर्फ गएर चेकजाँचको झन्झट भोग्नुभन्दा नेपालतर्फ बाटै पट्का सहितका झिरझिरे, आलुबम लगायतका विभिन्न प्रकारका कम क्षमताका विस्फोटक पर्दाथ धेरैले खरिद गर्ने गरेका छन् ।

महेसपुर क्षेत्र मात्र होईन् जिल्लाका अन्य सिमावर्ती साना बजार क्षेत्रमा पनि पटकाको विक्रि खुलेआम भईरहेको छ । पट्का जथाभावि पड्काउने क्रम पनि बढ्दै गएपनि यसको नियन्त्रण तर्फ पनि प्रहरीले ध्यान दिने गरेको छैन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमै रहेकाले प्रहरीले निगरानी गरिरहेको दाबी गरे। एसपी फुयाँलले हल्काफुल्का पटका विक्रि वितरण तथा प्रयोगमा प्रहरीले खासै कडाई नगरेको बताए ।

चाडपर्वमा रमाइलोका लागि भन्दै पड्काईने पटकाका कारण आगलागी तथा अंगभंग समेत जोखिम हुने गर्दछ । कानुनतः पनि यो कार्य बर्जित छ ।

पट्का लगायत विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्