गण्डकी, १३ कात्तिक । कास्कीको पोखरा महानगरपालिका–१२ माटेपानीमा रहेको नमूना पशुपक्षी अस्पतालले गत साउनयता नयाँ सुविधायुक्त भवनबाट सेवा सञ्चालन गरिरहेको छ । सँगै निर्माण सुरु गरिएको तनहुँको नमूना पशुपक्षी अस्पताल भवन भने निर्माण कम्पनीको ढिलासुस्तीका कारण अधुरै छ ।
दुवै अस्पतालमा प्रदेश सरकारको लगानी छ । यसअघि रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई सेवा सुविधा र पूर्वाधार विस्तार गरी नमूना पशुपक्षी अस्पताल बनाउन लागिएको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलको पशुपक्षी विकास महाशाखाका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले कास्कीको अस्पतालबाट पशुपक्षीको उपचारमास्तरीय सेवा दिन सुरु गरिएको जानकारी दिए ।
“कास्कीमा नयाँ भवनबाट नमूना अस्पताल सञ्चालनमा आइसकेको छ, केही जनशक्ति र उपकरण थप्नुपर्ने अवस्था छ”, उनले भने, “तनहुँमा भने अस्पताल भवन निर्माणाधीन अवस्थामा छ, निर्माण कम्पनीको ढिलाइले समयमा भवन बन्न सकेन ।” भवन निर्माणलाई पूर्णता दिएर चालु आवभित्रैमा उक्त अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको डा शर्माले बताए ।
समयमा काम नसकिएपछि ठेक्काको म्याद थप गरिएको उनको भनाइ छ । उनले प्रदेश सरकारसँग भएको सीमित स्रोतसाधनका बाबजुद कास्कीमा बनेको नमूना पशुपक्षी अस्पतालले किसानलाई प्रत्यक्ष लाभ मिलेको बताए ।
उक्त अस्पतालका लागि थप प्राविधिक जनशक्ति र उपकरणको प्रबन्धका लागि मन्त्रालयबाट पहल भइरहेको उनले जानकारी दिए । अस्पतालले पशुपंक्षीमा लाग्ने रोगको निदान र उपचारका लागि आधुनिक पूर्वाधारसहितको सेवा दिइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख शम्भुराज पाण्डेले बताए । “पशुपक्षीको एक्सरे, भिडियो एक्सरे, शल्यक्रिया, दूध परीक्षणलगायत सेवा प्रदान गर्दै आएका छौँ”, उनले भने, “जनशक्ति व्यवस्थापनलाई अझ थुस्त बनाउनुपर्ने खाँचो छ ।”
नमूना अस्पताल बनेपछि पशुपक्षीमा देखिने जटिल प्रकृतिका रोगको निदान र उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको प्रमुख पाण्डेले बताए । “अत्याधुनिक प्रविधि र उपकरण नहुँदा कुनै बेला अनुमानका भरमा पनि उपचार गर्नुपर्ने अवस्था थियो, अब पशुपक्षीको उपचार पद्दतिमा पनि गुणात्मक परिवर्तन ल्याउने गरी अस्पतालको पूर्वाधार तयार भएको छ”, उनले भने, “पशुपक्षीमा बेलाबेला फैलने गरेको महामारीजन्य रोगको उपचार, नियन्त्रण र रोकथामका लागि पनि यो अस्पतालबाट ठूलो टेवा पुग्छ ।” मन्त्रालयका अनुसार कास्कीमा बनेको अस्पतालको लागत पाँच करोड ५४ लाख ४८ हजार र तनहुँको पाँच करोड ५४ लाख ६५ हजार रहेको छ ।
कास्कीको अस्पतालबाट स्याङ्जा, लमजुङ, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका किसान लाभान्वित भइरहेको मन्त्रालयले जनाएको छ । तनहुँमा बन्न लागेको उक्त अस्पतालबाट गोरखा, लमजुङ, नवलपुरलगायत क्षेत्रका किसानले लाभ पाउने डा शर्माले बताए । प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द सञ्चालनमा रहे पनि कास्की र तनुहँमा नमूना अस्पतालका रुपमा सञ्चालन गर्ने योजना प्रदेश सरकारले ल्याएको हो । रासस