Logo

हिजबुल्लाहद्वारा नसरल्लाहको उत्तराधिकारीमा उपप्रमुख नाइम कासेम नियुक्त



बेरुत, १३ कात्तिक । लेबननको हिजबुल्लाह आन्दोलनले मङ्गलबार गत महिना दक्षिण बेरुतमा इजरायली आक्रमणमा मारिएका हसन नसरल्लाहको उत्तराधिकारीका रूपमा उपप्रमुख नाइम कासेमलाई छनोट गरेको घोषणा गरेको छ ।

नसरल्लाहको हत्या भएको एक महिनाभन्दा बढी समयपछि इरान समर्थित समूहले विज्ञप्तिमा भनेको छ, “हिजबुल्लाहको (शासक) शूरा परिषद्ले शेख नाइम कासेमलाई हिजबुल्लाहको महासचिवका रूपमा निर्वाचित गर्न सहमति जनाएको छ ।”

हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख हाशेम सफिएद्दिन सुरुमा नसरल्लाहको उत्तराधिकारी हुने अनुमान गरिएको थियो । तर उनी पनि नसरल्लाहको हत्यापछि छोटो समयमै बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणमा मारिए ।

एकहत्तर वर्षीय कासेम सन् १९८२ मा हिजबुल्लाहका संस्थापकहरूमध्ये एक थिए र नसरल्लाहले नेतृत्व सम्हाल्नुभन्दा एक वर्षअघि सन् १९९१ देखि उनी पार्टीको उप–महासचिव रहेका छन् ।

उनको जन्म सन् १९५३ मा बेरुतमा इजरायलको सीमासँग जोडिएको क्फार फिला गाउँको एक परिवारमा भएको थियो ।

नसरल्लाह सन् २००६ को इजरायलसँगको युद्धपछि मुख्यतया लुकेर बस्न थालेपछि सार्वजनिक देखा पर्न जारी राख्ने उनी सबैभन्दा वरिष्ठ हिजबुल्लाह अधिकारी थिए ।

सेप्टेम्बर २७ मा ठूलो इजरायली हवाई आक्रमणमा नसरल्लाहको मृत्यु भएयता कासेमले तीन पटक टेलिभिजन सम्बोधन गरेका छन् । यसमा उनले नसरल्लाहले प्रयोग गर्ने लेबनानी बोलीचालीको भाषाको सट्टा बढी औपचारिक अरबी भाषामा बोलेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्