Logo

इन्डोनेसिया र रूसले संयुक्त सैन्य अभ्यास गर्दै



जकार्ता, १३ कात्तिक । इन्डोनेसिया र रूसले अर्को महिना आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास गर्ने जकार्ताको सेनाले मङ्गलबार जनाएको छ ।

यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले युक्रेन द्वन्द्व वा वासिङ्टन र बेइजिङबीच तटस्थ विदेश नीति कायम राखेको छ ।

यद्यपि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले साहसका साथ अघि बढ्ने वाचा गर्दै गत जुलाईमा भ्लादिमिर पुटिनसँग वार्ताका लागि मस्कोको भ्रमण गरेका थिए ।

इन्डोनेसियाली सेनाले नोभेम्बर ४–९ सम्म सुराबायाको सैन्य आधार नजिकै जाभा सागरमा अभ्यास हुने जनाएको छ । अभ्यास सेनाबीचको महत्त्वपुर्ण द्विपक्षीय अभ्यास भएको इन्डोनेसियाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

इन्डोनेसियाका लागि रूसी राजदूत सेर्गेई टोल्चेनोभले अभ्यासको पुष्टि गर्दै अभ्यासले कुनै पनि प्रतिद्वन्द्वी शक्तिलाई लक्षित नगरेको बताएका छन् । उनका अनुसार अभ्यास केवल सेनाको क्षमता बढाउनका लागि मात्र हो ।

पछिल्लो समयमा इन्डोनेसियाले युक्रेनमा रूसले गरिरहेको आक्रमणको शान्तिपूर्ण समाधानका लागि बारम्बार आह्वान गर्दै आएको छ ।

इन्डोनेसियाले गत हप्ता रुस, ब्राजिल, भारत, चीन र दक्षिण अफ्रिकाको नेतृत्वमा रहेको ब्रिक्सको सदस्य बन्ने प्रक्रिया सुरु गरेको विदेशमन्त्री सुगियोनोले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्