काठमाडौं, १३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी फुटको संघारमा पुगेको छ । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेर अनुसन्धानको दायरामा तानिएपछि रास्वपा मरणासन्न अवस्थामा पुगेको छ । सभापति लामिछानेको कर्तुतको भारी सिंगो पार्टीले बोक्न नहुने मत पार्टीभित्र बलियो बन्दै गएको छ ।
सभापति अनुसन्धानको दायरामा आउनेबित्तिकै पार्टी पँक्ति नै आन्दोलनमा उत्रिनु गलत भएको निश्कर्षमा सो दलका इमानदार नेताहरु पुगेका छन् । तर, रास्वपामा कोर–टिमको दबदबा छ । उनीहरुकै दबाबको कारण पार्टी पँक्ति सामान्य न्यायिक प्रक्रिया चल्दै गर्दापनि सभापति लामिछानेको रिहाईको माग गर्दै सडकमा उत्रिनुपर्यो ।
सडकमा पनि जनताको साथ पाउन नसकेपछि उनीहरु पोखराको आन्दोलनबाट एकाएक ब्याक भएर काठमाडौंमा सरे । काठमाडौंमा समेत जनताको साथ नपाउने निश्चित् भएपछि पार्टी आन्दोलनबाट एक कदम पछि हटेको बताईन्छ । रास्वपाको सचिवालय बैठक बसेर यसअघि नै आन्दोलन परिचालनको जिम्मा रविका विश्वासपात्रसमेत रहेका उपसभापति डिपी अर्यालले पाएका थिए । यस्तै, राजनीतिक सम्वादको जिम्मा अर्का उपसभापति स्वर्णिम वाग्लेलाई दिईएको थियो ।
तर, वाग्ले पक्षलाई थाहै नदिईकन डिपी अर्याल र सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली भेटेपछि भने रास्वपाभित्र विवाद चुलिएको छ । अर्याल पक्ष एकतर्फी ढंगले अघि बढेको भन्दै वाग्ले पक्ष असन्तुष्ट छ । उनीहरुले सचिवालय बैठक मागेपछि अहिले रास्वपा मुख्यालय वनस्थलीस्थित् घण्टीघरमा सचिवालय बैठक जारी छ। बैठकको मूल विषय नै प्रधानमन्त्री ओलीसँग डिपी अर्यालले गरेको गोप्य भेटवार्ता रहेको छ ।
वाग्ले पक्षले अब आन्दोलनपनि अघि बढाउन नसकिने र पार्टी यसरी नै चलाउन खोजिए दुर्घटना निम्तिने चेतावनी दिएको छ । वाग्लेलाई सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, सोबिता गौतमलगायतले साथ दिएका छन् । उनीहरु उस्तै परे पार्टी नै विभाजन गर्ने तहसम्म पुग्नसक्ने विश्वस्त स्रोतको दाबी छ ।
पार्टी पँक्ति प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलनमा उत्रिएको बेलामा पदाधिकारीलाई समेत थाहै नदिईकन डिपी अर्यालले उनै ओलीसँग भेट गरेको र सो कुरा प्रधानमन्त्रीको सचिवालयबाट बाहिरिएपछि बदनामी खेप्नुपरेको वाग्लेको निश्कर्ष छ । सचिवालय बैठक बस्नुअघि रास्वपाले आज आयोजना गरेको बालुवाटार घेराउमा भने वाग्लेपनि उपस्थित् थिए ।
उनले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसको प्रतिकारमा उत्रिने चेतावनी दिएका थिए । साथै, उनले सहकारी ठगीमा नाम मुछिएका कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि पक्राउ गरी कारबाहीको माग गरेका थिए । file photo