काठमाडौं, कार्तिक १४ । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको गुटलाई माओवादी भन्नुभन्दा प्रचण्डपन्थी भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् ।
केही दिनयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लगातार आलोचना गर्दै आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आज बिहान सामाजिक सञ्जालमार्फत प्रचण्डविरुद्ध पुनः अर्को कटाक्ष गर्दै उक्त कुरा बताएका हुन् ।
समाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त होला। किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरी सहित आधुनिक नेपाल राज्य बने यताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसंगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ। त्यसपछि त्यो आन्दोलन (जुन ‘पार्टी’ मात्र थिएन!) लाई हाम्रो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार (जुन तीब्र आर्थिक-सामाजिक रूपान्तरण हुनुपर्दथ्यो, अझै हुनुपर्छ) पूरा गर्न वेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्दथ्यो। परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता-स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो।’
उनले अगाडी लेखेका छन्अ, ‘अनि केही तथ्यांकका कुरा- प्रचण्डको पार्टीको संसदीय सिटसंख्या ३० हो ३२ हैन। २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत कानूनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दावी गरेका मात्र हुन्। साथै गोरखा र सर्लाहीका २/२ निर्वाचन क्षेत्रमा प्रचण्डको पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेर मात्र देखिएको हो। त्यो घटाउँदा कति हुन्छ आफैं बुझौं!’