राँझा (बाँके), १४ कात्तिक । यसपटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धारयात्राअन्तर्गत बाँकेबाट पाँच जना सहयोगापेक्षीको उद्धार भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१८ बाट दुई, कोहलपुर नगरपालिका–११ बाट एक, जानकी गाउँपालिका–६ बाट एक र बैजनाथ गाउँपालिका–१ बाट एक जना गरी पाँच सडक मानवहरूको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
गत असोज २८ गते झापाको मेचीनगरबाट सुरु भएको यात्रा यहाँ आइपुग्दासम्म एक सय ३९ जना सडकआश्रित मानवको उद्धार भएको छ । उद्धार गरिएकामा एक सय छ पुरुष र ३३ जना महिला छन् । रासस