ओटावा, १४ कात्तिक । क्यानडाको आवासीय विद्यालयबाट आदिवासी बालबालिकाको मृत्यु र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एक प्रतिवेदनले जनाएको छ ।
सन् २०२१ मा सयौं संदिग्ध चिहानस्थलहरू फेला परेपछि गरिएको राष्ट्रव्यापी अनुसन्धानको मङ्गलबार जारी गरिएको प्रतिवेदनले आदिवासी बालबालिकाको मृत्यु र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने निश्कर्ष निकालिएको हो ।
आदिवासीलाई जबरजस्ती आत्मसात गर्न एक शताब्दीभन्दा पहिले स्थापना गरिएका पूर्व आवसीय विद्यालय नजिकैका चिहानहरूको खोजले क्यानाडालीलाई स्तब्ध बनाएको छ ।
सन् १८३१ देखि १९९६ को बिचमा अनुमानित एक लाख ५० हजार बालबालिकालाई विद्यालयमा पठाइएको थियो। तीमध्ये धेरैजना घर फर्किएका थिएनन् ।
चिहानहरू फेला परेपछि उक्त घटनाको अनुसन्धानका लागि एक विशेष वार्ताकार, किम्बर्ली मुर्रेलाई ओटावाले तुरुन्तै नियुक्त गरेको थियो ।
मङ्गलबार आफ्नो प्रतिवदेनमा मुर्रेले थप अनुसन्धानका लागि २० वर्षको जनादेशसहित आदिवासी नेतृत्वको स्वतन्त्र आयोग गठन गर्न आह्वान गरेका छन् ।
उनले क्यानाडालाई यस घटनाको अपराधीको संज्ञा दिँदै यस्तो आयोगलाई समर्थन गर्ने देशको दायित्व रहेको बताए ।
मुर्रेले आदिवासी बालबालिका जबरजस्ती बेपत्ता र मृत्युको घटना अन्तर्राष्ट्रिय आपराधिक अदालतमा पठाइनुपर्नेलगायत देशले बहन गर्नुपर्ने अन्य ४२ दायित्वहरू सूचीबद्ध गरेका छन् ।
अन्तिम प्रतिवेदनले सरकार र चर्चले विद्यालयमा बालबालिकाको मृत्युको योजना बनाएको प्रारम्भिक निष्कर्ष दोहोर्याएको थियो ।
क्यानडाका न्यायमन्त्री आरिफ विरानीले प्रतिवेदनलाई आवासीय विद्यालयहरूले निम्त्याएको आघातलाई सम्बोधन गर्न चलिरहेको प्रयासको क्रममा एउटा कोसेढुङ्गाको रुपमा व्याख्या गरेका छन् ।
आदिवासी एल्डर फ्रेड म्याकग्रेगरले प्रतिवेदनको निष्कर्षले आवासीय विद्यालयबाट बचेका मानिसलाई उपचार प्राप्त हुनसक्ने आशा व्यक्त गरे ।
“हामी यहाँ इतिहास हौँ”, उनले भने, “क्यानाडामा कानूनको शासनको अभाव छ भन्ने हामी यो प्रतिवेदनबाट बुझ्न सक्छौँ ।” रासस