काठमाडौं, १६ कार्तिक । पार्टी विभाजनपछि उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा ओझेलमा परेका छन् । उपप्रधानमन्त्रीको हैसियतमा अमेरिका भ्रमणमा गएको बेलामा यता अशोक राईले पार्टी विभाजन गरेपछि यादव संसदीय राजनीतिमा कमजोर बने । १२ जना सांसदसहितको पार्टी नेतृत्व गरेका यादव संघीय संसद्मा पार्टी विभाजन गरेर बनेको अशोक राईभन्दा कमजोर बने । तर, आफ्नो राजनीतिक प्रभावको केन्द्र मानिएको मधेशमा भने उनलाई विभाजनको खासै असर परेन् ।
यद्धपी पार्टी विभाजनकै कारण उनले मधेशबाट पनि पहिलोपटक सत्ताबाट हात धुनुपरेको छ । अहिले मधेश प्रदेशको सरकारको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ । मुख्यमन्त्रीको जिम्मेवारीमा सतिश सिंह छन् । आफू संलग्न रहेको क्याविनेटका प्रधानमन्त्रीले नै आफ्नो पार्टी विभाजन गरेको र सो कुरा सगौरव सुनाउने गरेपछि यादव पुष्पकमल दाहालप्रति आक्रोशित बनेका छन् ।
उनी अहिले राष्ट्रिय राजनीतिमा बरु पार्टी विभाजन गर्ने अशोक राईहरुकै पुच्छर बन्नुपरेपनि बन्ने तर प्रचण्ड उभिएको कित्तामा नउभिने कसम खाएर बसेका छन् । र, त्यस्तै व्यवहार देखाईरहेका छन् । प्रचण्डलाई ढालेर कांग्रेसको समर्थनमा सरकार बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरे । विश्वासको मत दिए ।
अहिलेसम्म त्यो विश्वास कायमै छ । बरु, सरकारमा भएका नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताले सरकारविरुद्ध बेला बेलामा उभ्याउने गरेका छन् । तर, यादव सरकारमा नहुँदापनि वर्तमान सरकारको आलोचनामा अहिलेसम्म उत्रिएका छैनन् ।
सरकारलाई समर्थन गरेको सिके राउतको जनमत पार्टीले मधेशमा गठबन्धनकै बलामा सरकार चलाईराखेको छ। यसका अध्यक्ष राउतले पनि बेला बेलामा सरकारविरुद्ध आन्दोलन चर्काउने अभिव्यक्ति दिएका छन् । तर, यादव भने रहस्यमयी ढंगले मौन छन् । कतिपयले उनी राष्ट्रिय राजनीतिमा आउने फेरबदलको मौका कुरेर बसेको भनेका छन् ।
तिहारलगत्तै मधेशमा सरकार परिवर्तनको हल्ला छ । त्यतिवेला ओलीले सरकारको नेतृत्व उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपाललाई दिने वचन दिएको चर्चा छ । कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ । यस्तोमा मधेशको सरकार कसको नेतृत्वमा बन्छ, त्यसले पनि केन्द्रीय राजनीतिको अबको बाटोको लेखाजोखा गर्ने पक्का छ ।
उपेन्द्र राउतलाई आउट गरेर मधेशमा आफ्नो इन्ट्री चाहन्छन् । उस्तै, परे केन्द्रको सरकारमा पनि छिट्टै आरोहण हुने उनको दाउ छ । अहिले प्रधानमन्त्री ओलीप्रति उपेन्द्रको आघात विश्वास छ ।