Logo

धनराज दोषी देखिए कारवाही हुन्छ : गृहमन्त्री लेखक



काठमाडौं, कार्तिक १८ । गृहमन्त्री रमेश लेखकले सहकारीको रकम हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद धनराज गुरुङ दोषी देखिए कारवाही हुने बताएका छन् । रिपोर्टर्स नेपालसँगको कुराकानीमा गृहमन्त्री लेखकले कांग्रेस उपसभापतिसमेत रहेका गुरुङका विषयमा अनुसन्धान जारी रहेकाले कानूनले गैरकानूनी काम गरेको देखाए कारवाही हुने बताएका हुन ।

गृहमन्त्री लेखकले भने, ‘धनराजजीमाथि पनि अनुसन्धान जारी छ । यदि तथ्य प्रमाणले उहाँले गैरकानूनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’ उनले मुख हेरेर नभई तथ्य प्रमाण हेरेर अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धान गरिरहेको निकायले चाँडै पत्रकार सम्मेलन गरेर सत्यतथ्य बाहिर ल्याउने बताए ।

तथ्य, प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको जनाउँदै गृहमन्त्री लेखकले सहकारी प्रकरणमा बचत फिर्ता गर्न र सहकारीलाई सुधार्न सरकार संवेदनशील भएर लागेको बताए । जता जता तथ्य र प्रमाण जान्छ अनुसन्धान पनि त्यतै जाने जनाउँदै उनले सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने प्रतिबद्वता जनाए । सहकारी ठगीका विषयमा गठित संसदीय छानविन समितिले अनुसन्धान गरेर कारबाही सिफारिस गरेका सबै व्यक्ति अनुसन्धानको दायरामा आइसकेको समेत उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्