काठमाडौं, कार्तिक १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न दाइ हरिशरण लामिछाने पोखरा जाँदैछन् । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेको तिहार हिरासतमै बित्ने भएपछि भेटघाटको लागि दाई हरिशरण पोखरा जान लागेका हुन् । उनी अहिले केहिबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जहाजमार्फत पोखरा जान लागेका हुन् ।
सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका रविको तिहार हिरासतमै बित्ने भएको हो । कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो । थपिएको म्याद कात्तिक १४ गते बुधवार सकियो । तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बित्न लागेको हो ।
रविलाई अब एकै पटक कात्तिक २० गते अदालतमा उपस्थित गराइनेछ । तिहार बिदा सकिएपछि कार्यालय खुल्ने पहिलो दिन कात्तिक २० गते उनलाई प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सो दिन अदालतमा उनको म्याद थप सम्बन्धी बहस हुनेछ । म्याद थप भएको खण्डमा उनलाई कात्तिक १५ गतेदेखि नै लागु हुने गरी म्याद थपिनेछ ।