Logo

विश्व शहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनः चन्द्रागिरिले ‘भीएलआर’ प्रस्तुत गर्दै



काठमाडौं, कार्तिक १९ । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा यही कात्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा आयोजना हुने सो सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भीएलआर)’ प्रस्तुत गर्न लागेको हो ।

विश्वका एकसय ५० भन्दा बढी देशको सहभागिता हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाली देशका शहरबाट (स्थानीय पालिका) चन्द्रागिरि नगरपालिकाले भाग लिने लागेको हो ।

दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरिले ‘भीएलआर’ प्रतिवेदन तयार गरेको थियो । सम्मेलनमा भाग लिन चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी शनिबार इजिप्टको कायरो तर्फ प्रस्थान गरेका छन् । उनले सम्मेलनमा नगरपालिकाका तर्फबाट भीएलआर प्रतिवेदन प्रस्तुत गर्नुका साथै नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुति एवं सम्बोधन गर्नेछन् ।

सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भीएलआर’ प्रतिवेदन तयार पारेको थियो । गिरीले भने, ‘दिगो विकास लक्ष्यमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता लक्ष्यलाई स्थानीयकरण गर्न नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासलाई प्रतिवेदनमा समावेश गरिएका छन् । यही प्रतिवेदनका बारेमा मैले अन्तराष्ट्रिय समुदायमा जानकारी गराउँदछु । यो नगरपालिका एवं मेरो लागि ऐतिहासिक अवसर हो ।’

दिगो विकास लक्ष्यका विभिन्न विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको प्रयासबाट सो प्रतिवेदन बनाएको हो । ती क्षेत्रलाई मुख्य आधार एवं स्थानीयकरण गर्दै नगरपालिकाले आफ्ना योजनामा समावेश एवं कार्यान्वयनमा ल्याएको विषयलाई प्रतिवेदनमा समावेश गरिएका छन् । चन्द्रागिरि यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ । धुलिखेल नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन प्रस्तुत गरिसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्