काठमाडौँ, २१ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा रहेका मन्त्री खड्काले मङ्गलबार राती नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भेट गरेका हुन् ।
भेटमा नेपाल–भारतबीचको विद्युत आयत÷निर्यात, बङ्गलादेशसँगको विद्युत व्यापार, अन्तरदेशीय ४०० केभी प्रसारण लाईन निर्माणलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।
यस्तै, भेटका क्रममा मन्त्री खड्काले अरुण करिडोरको ट्रान्समिसन लाईन चाँडो निर्माण गर्न र पञ्चेरश्वर परियोजनालाई अगाडि बढाउन भारतसमक्ष प्रस्ताव राखेका थिए । भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालका ठूला विद्युत आयोजना निर्माणमा भारतको साथ र सहयोग रहेको बताएका थिए।
बैठकमा नेपालका उर्जा मन्त्रालयका उर्जा विज्ञ अधिकारी र भारतीय विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले दुई मन्त्रीले उठाएको विषयलाई व्याख्या गरेका थिए । भेटमा भारतका मन्त्रीसँगै विद्युत मन्त्रालयका सचिव अग्रवाल, केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनीयर बीएस वैरवालगायत भारतीय उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।
यस्तै, नेपालको तर्फबाट मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ अधिकारी, विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, उर्जामन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठसँगै नयाँदिल्लीस्थित नेपाली राजदूताबासका प्रतिनिधीको सहभागीता रहेको थियो ।