कास्की, कार्तिक २२ । चीनको सिचुवान एअरलाइन्सले १७ महिनापछि आज पोखारा क्षेत्रिए अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्दैछ। सिचुवान एअरलाइन्सको जहाज १३४ यात्रुसहित आज पोखरामा चार्टर्ड अवतरण गर्न लागेको हो ।
नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित कात्तिक २४ मा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति बोकेर उक्त जहाज पोखरा आउन लागेका हुन् ।
चीनको कुनमिङ विमानस्थलबाट आउने एअर बस ३१९ विमान आज दिउँसो २ बजेर ४० मिनेटमा पोखरामा अवतरण गर्नेछ । पोखरामा अवतरण गरेपछि अपराह्न ४ बजेर १० मिनेट जाँदा जहाज काठमाडौं हुँदै चीनको छेन्दु फर्किनेछ । उक्त जहाज काठमाडौं आउँदा भने खालि नै उड्नेछ । प्रतियोगितामा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
सिचुवानले यसअघि २०८० असार ६ मा पहिलोपटक चार्टर्ड उडान गरेको थियो । पोखरा विमानस्थल सञ्चालनमा आएको १७२ दिनमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए ३१९ विमानले उडान भरेको हो ।
सो विमानमा पोखराको फेवातालमा सम्पन्न दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन चिनियाँ टोली आएका थिए । यो नै पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरामा चारपटक गरी अहिलेसम्म पाँच चार्टर्ड र एक व्यावसायिक उडान भएको छ ।