Logo

अमेरिकी जनताले इतिहासमा पहिलोपटक आपराधिक क्रियाकलापमा संलग्न भएको र मुद्दा खेपिरहेको व्यक्तिलाई राष्ट्रपति चुनेः परराष्ट्रविद् डा. पाण्डे



काठमाडौं, २२ कार्तिक । परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले इतिहासमा पहिलोपटक अमेरिकी जनताले आपराधिक क्रियाकलापमा संलग्न भएको र मुद्दा खेपिरहेको व्यक्तिलाई राष्ट्रपतिको रूपमा चुनेको टिप्पणी गरेका छन् । अमेरिकाको ४७औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपालको राजनीतिक, आर्थिक, कुटनीतिक क्षेत्रमा पर्नसक्ने प्रभावका बारेमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनको शासन, डेमोक्रेशीको कुरा गर्ने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको मुद्दाको फैसला कार्यान्वयनको विषय रोचक हुनसक्ने बताए ।

‘पहिलो पटक इतिहासमा अपराधिक क्रियाकलापमा संलग्न भएको भनेर मुद्दा खेपिरहेको व्यक्ति अमेरिकाको राष्ट्रपति हुन गइरहेको छ । यो न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको द्वन्द्व अब अमेरिकामा कसरी सुरु हुन्छ र निर्क्यौल हुन्छ यसलाई हेर्न जरुरी छ ।’ उनले भने, ‘कानुनको शासन, डेमोक्रेशीको कुरा गर्ने मुलुकले आफ्नै राष्ट्रपतिको मुद्दामा भएको जतिपनि फैसलाहरु छन्, यसलाई कसरी कार्यान्वयनमा लिएर जान्छ ? न्यायपालिकाले त्यसलाई कसरी हेर्छ ? भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

साथै, ट्रम्पलाई संयुक्त राष्ट्रसंघका कतिपय कुराहरुमा विश्वास नरहेको उनले बताए । ट्रम्पको अघिल्लो कार्यकालमा अमेरिकाले युनेस्कोलाई सहयोग नगरेको उनले बताए । साथै आप्रावासी, महिला सशक्तिकरण र गर्भपतन, समलिङ्गीहरुको अधिकार र जलवायु परिवर्तनमा ट्रम्पको सोचाइ संकुचित रहेको उनले बताए । यी विषयहरुले नेपाललाई असर गर्ने उनको भनाइ छ । ट्रम्पले जलवायु परिवर्तन भन्ने कुरामा नै विश्वास नगर्ने उनले बताए ।

अमेरिका–नेपालबीचको इतिहास हेर्दा पनि रिपब्लिकन एड्मिनिस्ट्रेसनले नेपाललाई प्राथमिकतामा राखेको उनले बताए । अहिले पनि रिपब्लिकन एड्मिनिस्ट्रेसन आएको हुनाले अमेरिकी सरकारलाई आफ्नो राष्ट्रिय हितमा उपयोग गर्नसकिने उनले बताए । परराष्ट्रविद् डा.पाण्डेले दक्षिण एसियामा अमेरिकी सरकारको विशेष प्राथमिकता भारत रहेको दाबी गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच व्यक्तिगत र आत्मिय सम्बन्ध रहेको पनि उनले बताए ।साथै, नेपालसहित अन्य देशमा अमेरिकी प्रशासनको नीति कस्तो हुने भन्ने कुरा रूस–युक्रेनबीच रहेको युद्धको समाधानले बताउने उनले बताए ।

पाण्डेले भने,‘अमेरिकी प्रशासनको विशेष प्राथामिकता भनेको दक्षिण एसियामा भारत नै हो । भारतसितको सम्बन्ध उहाँहरुले कसरी विस्तार गर्दै लानुहुन्छ ? प्रधानमन्त्री मोदी र ट्रम्पको आत्मिय र व्यक्तिगत सम्बन्ध छ । त्यसलाई कसरी विकास गर्नुहुन्छ ? र रूस युक्रेन युद्धलाई कसरी समाप्त गर्नुहुन्छ ? रूसले युक्रेनको भूमि खाइसक्यो । जुन भू–भाग खाइसक्यो त्यो खाएको खाई हुने हो कि ? अब शान्ति प्रक्रिया गर्ने हो कि त ? त्यो हो भने हामीजस्तो सानो र भूपरिवेष्ठित मुलुकलाई झन ठूलो समस्या पर्ने भयो ।’



प्रतिक्रिया दिनुहोस्