काठमाडौं, कात्तिक २७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार बेइजिङ जान लागेको छ ।
एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्षनेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा जान लागेको एमाले टोलीमा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीसमेत रहेका छन् ।।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, झापा गौरीगन्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी रहेका छन् ।