गण्डकी, कार्तिक २७ । रासस १५औँ शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार ‘छापे’ खनेसँगै सकिएको हो ।
सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी ताराखोला गाउँपालिका–२ अर्गलमा आएका मगर जातिले उक्त ऐतिहासिक पर्वको चलन बसालेका इतिहास छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र कृषि कर्म सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले बताए ।
उनका अनुसार व्यवस्थित खेती प्रणाली सुरु भएसँगै उक्त पर्वको थिति चलेको हो । परम्परागत मूल्य, मान्यता र विधिका आधारमा भुस पोल्ने पर्व श्रम र उत्पादनसँग जोडिएको सचिव घर्तीमगरले बताए । ‘यो पर्व एक किसिमले प्रकति पूजा पनि हो’, उनले भने, ‘यसले श्रम संस्कृतिलाई प्रोत्साहित गर्छ ।’
गाउँका बुढापाकाले सुनाएअनुसार पर्वको पहिलो दिन कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने गरिन्छ । मकैबाली भित्र्याएपछि बारीमा रहेका घाँस, डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई स्थानीय जनबोलीमा भुस पोल्ने भनिन्छ । शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन रहेको सचिव घर्तीमगरले बताउनुभयो । उक्त दिनमा शङ्खुबारीमा विशेष पूजाआजा पनि हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु (मुल) घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ ।
केही वर्षअघिसम्म गाउँका सबैभन्दा ज्येष्ठ सदस्यको घरलाई शङ्खुघर मान्दै आए पनि अहिले छुट्टै समाजघर निर्माण गरेर उक्त कार्य सञ्चालन गरिँदै आइएको सचिव घर्तीमगरले बताए । ‘कुनै ताका गाउँको मुखियाको घरलाई शङ्खुघर मान्ने गरिन्थ्यो । पर्वको दोस्रो दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारका रुपमा बरखी (दुःख) उम्काउने चलन छ’, उनले भने ।
मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव घर्तीमगरले २४ गते अघि जहिले मृत्यु भएको भए पनि २५ गते मृत्यु संस्कार पूरा गरिने जानकारी दिए । उनले भने, ‘२४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दान दक्षिणा दिइ मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् ।’
मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल, सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन रहेको सचिव घर्तीमगरले बताए । उनका अनुसार मृतकको परिवारबाट पनि सोहीअनुसार मावली र माइतीघरमा पठाउने गरिन्छ । त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा दिने चलन छ ।
भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको छ । पर्वको मुख्य दिन २६ गते छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मिएका घरमा पुत्र बढाइँ सुरु हुने सचिव घर्तीमगरले जानकारी दिए । कात्तिक नसकिएसम्म पुत्र बढाइँ निरन्तर गरिन्छ ।