काठमाडौं, कार्तिक २८ । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेल आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग खेल्दैछ। आजको खेल दिउँसो १ः३० बजे युएईको घरेलु मैदानमा हुनेछ । प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जित र एक हारको सामना गरेको छ। विश्वकप एसिया छनोटका लागि आज नेपालले यूएइविरुद्ध जित निकाल्नुपर्ने छ।
पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि १०६ रनको जित निकालेको थियो। पाँचौ खेलमा मंगलबार नेपालले कुवेतविरुद्ध १६५ रनको जित निकालेको थियो ।
पाँच खेल खेल्दा एक हार र चार जितसहित नेपालले ८ अंक जोडेको छ। युएईले भने पाँच खेलमा सबै जित निकाल्दै १० अंक जोडेको छ। थाइल्याण्डले दुई अंक जोडेको छ भने कुवेत अंकबिहीन छ। रनरेटको आधारमासमेत अपराजित युएई अगाडि भएकाले नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।