Logo

बाजुरामा नुन लिन वडाको सिफारिस अनिवार्य 



बाजुरा, कार्तिक २८ । बाजुरामा अनुदानको नुन लिन वडाको सिफारिस अनिवार्य गरिएको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेड कार्यालय मार्तडीले अनुदानको नुनमा हुने कालो बजारी रोक्न वडाको सिफारिस अनिवार्य गरिएको जनाएको छ। वडाको सिफारिस पछि प्रति घर परिवार सङ्ख्याको आधारमा नुन दिने व्यवस्था गरिने भएको छ ।

जिल्लाको मार्तडी बिक्री केन्द्रमा यस बर्ष २ हजार ५ सय क्विन्टल कोटा नुन रहेकोमा हाल ६ सय क्विन्टल नुन मौज्दात रहेको छ । नुन अभाव नभएर कालो बजारी रोक्न मार्तडी बिक्री केन्द्रले घरधुरी फारम बनाएर बडिमालिका नगरपालिकाका सबै वडाहरूमा दिएको र त्यसै फारमका आधारमा नुन वितरण गरिने साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेड कार्यालय बाजुराका प्रमुख टेक बहादुर बोहराले जानकारी दिए ।

बाजुरामा अनुदानको नुन वस्तुभाउ देखी जिल्लामा कार्यरत कर्मचारी र स्थानीयले छिमेकी जिल्लाहरूमा लिने गरेको गुनासो पछि कार्यालयले यस्तो निर्णय गरेको जनाइएको छ । नुनमा हुने कालोबजारीका कारण बाजुरामा बर्सेनि अनुदानको भानु आयोडिन नुनको चरम अभाव हुँदै आएको थियो।



प्रतिक्रिया दिनुहोस्