नुवाकोट, कार्तिक २८ । नुवाकोटको ककनी–२ मा वडाध्यक्ष पदको लागी हुन लागेको चुनावी गतिविधि तीव्र बनेको छ । आगामी मङ्सिर १६ गते हुन लागेको निर्वाचनको लागी ठूला तीन दलले उम्मेदवार टुङ्गाएर चुनावी प्रचार अभियानमा जुटेका छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित तिलकबहादुर लामाको निधन भएकाले अब हुने उपनिर्वाचनमा काँग्रेसले सूर्यबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस १ नं क्षेत्रीय सभापति ध्रुव श्रेष्ठको अनुसार विद्यार्थी, तरुण हुँदै पाटी राजनीतिमा सक्रिय रहेका सूर्यबहादुरलाई अध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो ।
नेकपा (एमाले) ले यमबहादुर तामाङलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ । एमाले नुवाकोट अध्यक्ष बद्री मैनालीको अनुसार स्ट्रबेरी खेती मार्फत कृषि क्षेत्रमा तल्लीन रहेका ककनी गाँउकमिटी सचिव यमबहादुरलाई वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)ले गत चुनावको उम्मेदवार कृष्ण घिमिरे (मिलन) लाई नै उपनिर्वाचनमा उठाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र, बागमती प्रदेश कमिटीका सचिवालय सदस्य नविन पुडासैनीको अनुसार व्यवस्था परिवर्तनको लागी सक्रिय रहेका युवा नेता घिमिरेलाई उपनिर्वाचनको लागी पुनः उम्मेदवार बनाउने निर्णय भएको हो ।
उम्मेदवार सिफारिस भइसकेका तथा सिफारिसको तयारीमा रहेका पाटीले चुनावी सरगर्मी तीव्र बनाएका छन् । दलहरूले गाउँको विकासमा जोडिएका सडक, खानेपानी, सिँचाई कुलो लगायतका पूर्वाधारको विकास, व्यावसायिक रुपमा यहाँ हुने स्ट्रबेरी र मुला खेतीको प्रबद्र्धन तथा बजारीकरण, उपत्यकाको फोहर विसर्जनबाट भइरहेका समस्या समाधान सहित वडाबाट हुने सेवा प्रवाहमा सुधार गर्ने नारालाई मूल रुपमा उठाएर मतदाताको घरघरमा जान थालेका छन् ।
काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारले दैनिक मतदाता भेटघाटको तालिका नै बनाएर चुनावी प्रचार अभियानका कार्यक्रम सार्वजनिक गरेका छन् । एमाले सहित अन्य दलहरूले उम्मेदवार दर्ता पश्चात् चुनावी कार्यक्रमको तालिका ल्याउने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) लगायतले उम्मेदवार छनोटको तयारी तीव्र बनाएका छन् । जस अन्तरगत राप्रपाले छिट्टै निर्णय गर्ने जनाएको छ भने सभापति रामेश्वर गजुरेलको अनुसार रास्वपाले कार्तिक ३० गते उम्मेदवार सिफारिस गर्न बैठक बोलाएको छ ।
उक्त वडामा विसंं २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार तिलकबहादुर लामाले ८८८ मत ल्याएर निर्वाचित भएका थिए । मिर्गौला खराबीको कारण विसं २०८० जेठ ३१ मा उनको निधन भएको थियो ।
उक्त निर्वाचनमा उहाँको प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्ण घिमिरेले ७३४, एमालेका प्रेमबहादुर तामाङले २०५, राप्रपाका गोबिन्द्रप्रसाद घिमिरेले २०३ मत ल्याएका थिए ।