Logo

हवाई भाडादर महँगो भएकोमा गगन थापाको चिन्ता, मन्त्री पाण्डे र क्यानका डिजी अधिकारीसँग छलफल



काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हवाई भाडादर महँगो भएको विषयमा विभागीय मन्त्री र क्यानका डिजीसँग छलफल गरेका छन् ।

मन्त्रालयमा पुगेर (हिजो) बिहीबार आफू र सांसद सञ्जय गौतमले हवाई भाडा वृद्धिको विषयमा छलफल गरेको जनाएका हुन् । सो क्रममा हवाई भाडा वृद्धि समस्याको समाधानको लागि सबै उपाय लगाउनुपर्नेमा जोड दिईएको थापाको भनाई छ ।

थापाले फेशबुकमार्फत यस्तो लेखेका छन्-

हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा !
मा. सञ्जय गौतम र मैले, माननीय मन्त्रीज्यू, सचिवज्यू, लगायत मन्त्रालयका अधिकारीहरू, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक, नेपाल वायुसेवा निगमका अधिकारी, अन्य सम्बन्धित प्रतिनिधिहरू सँगको छलफलमा मूलतः दुई विषयमा हामीले गम्भीर चासो राख्दै ध्यानाकर्षण गराएका छौँ।

१. हवाई भाडामा भएको अस्वाभाविक वृद्धिको सम्बन्धमा:

क)अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको सङ्ख्या कम भएको र यसको कारण भनेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक रूपमा वृद्धि भएको छ। जसको सिधा असर आम मानिसमा परेको छ। हामीले यो सम्बन्धमा मन्त्रालयको धारणा सुन्यौ। यसलाई सुधार गर्न के काम भइरहेको छ भन्ने जानकारी लियौ।

ख) डिसेम्बर महिना बाट धेरै सुधार हुन्छ भन्ने कुरा आएपनी त्यसपश्चात्को हवाई भाडा दर पनि महँगो नै रहने अवस्था छ। यसको समाधानको लागी सबै उपायहरू लगाएर भाडदारमा भइरहेको अनियमितता लाई चेक गर्न आवश्यक रहेको बुझाउँदै हामीले हाम्रा सुझाव दिएका छौँ।

ग) यसरी विमानस्थलमा हुने निर्माण कार्यकै कारण देशको हवाई यातायात र भाडा दर प्रभावित हुनेभएकोले अहिले भइरहेको विमानस्थल निर्माणका कामहरूलाई ‘के-कस्तो उपायहरू लगाएर थप गतिशील बनाएर कसरी निर्माणको अवधि घटाउन सकिन्छ? जसले गर्दा निर्माण अवधि घट्न सक्छ।’, भन्ने हाम्रो चासोको विषयमा मन्त्रालयले काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ, जुन सराहनीय छ।

२. कोरियामा जाने श्रमिकहरू महँगो हवाई-भाडदारका कारण एकदमै ठुलो मारमा परेका छन्। नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर हुन्छ वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्नुपर्छ भन्ने धारणा राख्यौँ। यस सम्बन्धमा मैले अध्ययन गरेर, अन्तरक्रिया गरेर लिएको सबै कुराको जानकारी गराएको छु। यसका लागी मन्त्रालयले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, EPS, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग एकै ठाउँमा बसेर, समन्वय गरी तत्काल निचोडमा पुगेर कार्यान्वयनमा लिएर जानुपर्नेछ। यसमा मन्त्रीजीले ‘तुरुन्त काम हुने गरी प्रक्रिया अगाडी बढाउँछु’ भन्ने कुराको विश्वास दिलाउनुभएको छ।



प्रतिक्रिया दिनुहोस्