काठमाडौं, १ मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको एमालेले सडक प्रदर्शन गर्न लागेकोमा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीको पार्टी नै प्रदर्शनमा उत्रिनु लोकतन्त्रको उपहास हुने टिप्पणी गरेका छन् । फेशबुक पेजमार्फत साहले एक भिडिओ सन्देश जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्–‘प्रधानमन्त्रीले गर्ने सडक प्रदर्शन लोकतन्त्रको लागि उपहास हो । गत चुनावमा एक अर्काको मुख्य प्रतिष्पर्धी रहेका नेपाली कांग्रेस र एमाले अहिले सरकारमा छन्, जो दुनियाँमा कहीँपनि हुँदैन् । लोकतान्त्रिक देशमा जनताको जनादेशविपरित जाने छुट कसैलाई हुँदैन् । जबकी नेपालमा फरक जनादेश प्राप्त गरेका पार्टीहरु अनैतिक ढंगले सरकार चलाईराखेका छन् । संसद्को मुख्य हिस्सा नै अहिले सरकारमा छन् । अहिले जनताको पक्षमा संसद्पनि रहेन । यस्तो अवस्थामा विवश भएर जनता सडकमा आउन बाध्य भएका छन् । जनता सडकमा आउँदा सरकारले नै सडकबाट काउन्टर गर्ने जो स्थिति निर्माण गरिरहेको छ । यो भनेको बच्चालाई कुट्ने अनि रुनपनि नदिनेसम्मको क्रुरताजस्तै हो ।’
उनले अत्याचार अत्यधिक हुँदा त्यसको अन्त्य निश्चित् भएझैं वर्तमान सरकारको पनि अन्त्य निश्चित् भैसकेको दाबी गरे । उनले भने,‘मेरो विचारमा प्रधानमन्त्रीजीको यो सडक प्रदर्शन कमिलाको प्वाँखजस्तै हुनेछ । उहाँको हर्कत निभ्ने बेलाको दियोजस्तै हो । आफ्नो कुर्सी जोगाउनको लागि उहाँले आफ्नो तागद देखाउन खोज्दै हुनुहुन्छ, जेपनि हर्कत गर्न खोज्दै हुनुहुन्छ, त्यसको अन्त्य निश्चित् छ । यसमा कसैले पनि डाउट नगरे हुन्छ ।’
आजपा आजबाट सडक आन्दोलनमा उत्रिएको छ । अध्यक्ष साह यतिवेला मधेश–यात्रामा निस्किएका छन् । भ्रष्टाचारको विरोधमा उनले सप्तरीदेखि पर्सासम्म मधेश यात्रा सुरु गरेका छन् ।