Logo

बीआरआईको बारेमा नेपालमा डिटेल डिस्कोर्स हुनुपर्यो, संसद्मा पनि छलफल हुनुपर्यो : शेखर कोइराला



काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा चिनियाँ कार्ड खेल्न खोजेको भनेर दिएको अभिव्यक्तिको कोइरालाले आपत्ति जनाउँदै भने,‘देशको पूर्व प्रधानमन्त्रीले जे कुरा राख्नुभयो नि, म त अचम्मित भएँ । उहाँले यसरी देशको प्रधानमन्त्री अर्को देशमा जाने तरखरमा हुनुहुन्छ, तयारीमा हुनुहुन्छ । उहाँले यसरी यो चीन कार्ड, भारत कार्ड भनिकन भन्न हुँदैन् । उहाँ त पूर्व प्रधानमन्त्री हो । उहाँ देशको नेता हो । एउटा पार्टीको अध्यक्षमात्रै होईन । त्यो बुझ्न जरुरी छ । हाम्रो देशको प्रधानमन्त्री, जतिसुकै मसँग मिलोस वा नमिलोस, जतिसुकै होस, तर केपी शर्मा ओली हाम्रो प्रधानमन्त्री हो । देशको प्रधानमन्त्री हो । उहाँ चीन जाँदैहुनुहुन्छ । पूर्व प्रधानमन्त्रीले त्यसरी बोल्नुहुँदैन् । देशको गरिमाको विषय हो । उहाँले गलत गर्नुभयो । यसरी बोल्नुहुँदैन् ।’

आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् । पत्रकार धमलाले चिनियाँ परियोजना बीआरआईलाई नेपालमा कसरी टुँगो लगाउने भनेर प्रश्न सोधे ।

जवाफमा कोइरालाले भने–‘प्रचण्डजी प्रधानमन्त्री र डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री भएको बेलामा बीआरआईको सम्झौता भएको छ । अब कार्यान्वनयको कुरा छ । ती कुराहरु कति ठीक होलान्, कति बेठिक होलान् । तर, अहिले सुनिएको छ कि हरेक कुरामा बीआरआई भनिएको छ भन्ने सुनिएको छ । हाम्रो देशले बीआरआईको लोन लिएर जानु हुन्छ कि हुँदैन ? भन्ने विषय यो अत्यन्तै गम्भीर छ । तर हामीहरु लोन र ग्रान्टको कुरामात्रै बीआरआईमा गर्दैछौं । लोन र ग्रान्टभन्दापनि बेशी कुरा बीआरआईमा छ भन्ने कुरा पहिले बुझौं । बीआरआई स्टा«टेजिक कुरा हो कि होईन ? त्यसबारेमा डिटेल कुरा पाउनुपर्यो, पढ्नुपर्यो । छलफल हुनुपर्यो । जसरी एमसिसीमा हामीले संसद्मा छलफल गर्यौं । नेपालमा अरु इस्युमा छलफल हुन्छ, तर इन्ट्रेस्टिङ्ली बीआरआईमा कुनै छलफल भएको छैन् । खाली ऋण र अनुदानको मात्रै कुरा भैराखेको छ । चीनले नेपाललाई असल छिमेकी सम्झिएर अनुदानमा प्रोजेक्ट दिईयोस । बीआरआईको बारेमा डिटेल छलफल गर्नुपर्छ ।’

उनले एमसिसीमा डकुमेन्टमा छलफल भएजस्तो बीआरआईबारे पनि डकुमेन्टमा छलफल हुनुपपर्ने माग गरे । तर, अहिलेसम्म छलफल नभएकोमा उनले गुनासो पोखे । बीआरआई परियोजनाको रुपमा लिने हो भनेपनि अनुदानमात्रै लिनुपर्ने उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्