Logo

राजविराजबाट प्रभु साहको आरोप : उपेन्द्र र सिके राउतले मधेसमा लुट मच्चाए



राजविराज, २ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जसपा नेपालका अध्यक्ष ‘भिजेको मुसाजस्तै’ र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत ‘रंग फेर्ने छेपारो’ जस्तै भईसकेको टिप्पणी गरेका छन् । आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मधेसका लागि उपेन्द्र र सिके आवश्यक नभएको बताउदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘अहिले जसपा नेपाल अध्यक्ष पानीमा काँपेर बसेको मूसा जस्तै अवस्थामा छन् । उनी सत्ता पक्ष कि प्रतिपक्ष अहिले चिन्नै गाह्रो भएको छ’ आजपा अध्यक्ष साहले भने, ‘जनमतका अध्यक्ष सिके राउत त रंग फेर्ने छेपारोको जस्तै भईसकेका छन् । हातीको देखाउने दाँत र चपाउने दाँत फरक भए जस्तै उनको व्यवहोरा देखिन्छ ।’

उपेन्द्र र सिके दुबैले मधेसमा विकास नभई विनाश गरिरहेको आरोप साहले लगाए । मधेसको शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, उधोगधन्दा सबै क्षेत्र बर्बाद गर्ने नेताहरु मधेस प्रदेशमा सरकारको नेतृत्व गरेको बताउदै उनले मधेसको बिकासका लागि आम जनताको शासन हुन आवश्यक रहेको बताए । ‘रबी लामिछाने पक्राउ पर्दा बिरोध गर्ने सिके राउत सत्ता पक्षमा गएर हस्ताक्षर गरे’ साहले भने । यद्यपी यो दुई पार्टीमा देश बनाउने, संघीयताका लागि लड्ने राम्रा नेताहरु पनि रहेको उनले बताए ।

आजपा अध्यक्ष साहले आफ्नो पार्टीको मधेश प्रदेश समितिले भ्रष्टाचारबिरुद्धको जनजागरण अभियान शुरु गरेको बताए । भ्रष्टाचार के हो ?, यसलाई हटाउन जनताको भूमिका कस्तो हुनुपर्छ ? जस्ता बिषयमा जनजागरण ल्याउन अभियान शुरु गरिएको उनले बताए । ‘भ्रष्टाचार गर्नेलाई जनताको निगरानी छैन’ उनले भने, ‘भ्रष्टाचारबिरुद्ध जबसम्म जनतामा चेतना आउँदैन, तबसम्म यो नियन्त्रण हुँदैन् ।’

आफ्नो अभियानलाई रोक्न सरकार लागिपरेको आरोप उनले लगाए । ‘राजविराज आउने क्रममा शनिबार ठाउँ–ठाउँमा रोकेर प्रहरीले अनावश्यक दुःख दिएका छन्’ उनले भने, ‘माथिको आदेश भन्दै प्रहरीले यसरी दुःख दिएको पाए ।’



प्रतिक्रिया दिनुहोस्