Logo

प्रधानमन्त्री ओली यसपटक परराष्ट्र सल्लाहकारविहीन, चीन भ्रमणको साझा एजेण्डा तय गर्न सकस



काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिवेला कांग्रेसको समर्थनमा बलियो सरकारको नेतृत्वमा सवार छन् । दुई तिहाई बहुमतनजिक रहेको सरकारलाई काम गर्न कुनै अवरोध छैन् । तरपनि प्रधानमन्त्री ओलीले आफ्नो पाइला भने बाँधिएको महसुस गरेका छन् ।

महत्वपूर्ण निर्णय लिने सवालमा उनी विगतमा सरकारको नेतृत्व गर्दाभन्दापनि ढिला हुने गरेका छन् । कतिपय महत्वपूर्ण निर्णय हुन लागेको सूचना चुहाईएपनि त्यसमा निर्णयमा पुग्न ओलीलाई सकस भैरहेको छ । पछिल्लो समय राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने हल्ला चलेको थियो ।

दशैं, तिहार र छठअघिसम्म त्यो हल्ला कायमै थियो । तर, छठ सकिएको पनि दुई साता बितिसक्दापनि त्यसबारेमा प्रधानमन्त्री ओली निर्णयमा पुग्न सकेका छैनन् । यसमापनि उनलाई कांग्रेस नै बाधक बनेको चर्चा छ । अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी थालेका छन् । मंसिर १७ गते चीन जाने भनिएको छ । तर, भ्रमणको एजेण्डाबारे औपचारिक रुपमा अहिलेसम्म छलफल तय गरिएको छैन् । उनको भ्रमणमा कांग्रेसले बीआरआईको अड्को थापेको गाईगुँई चलेको छ ।

कांग्रेसको संस्थापक निर्णय नै चिनियाँ सहयोग परियोजना बीआरआई कुनैपनि हालतमा ऋणमा लिन नहुने छ । कांग्रेसका प्रभावशाली नेताहरु बीआरआईबारे सदनमा नै छलफल हुनुपर्छ भनेर मुखरित हुन थालेका छन् । भावी सभापतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गरिरहेका प्रभावशाली नेता डा. शेखर कोइराला, नेताहरु अर्जुननरसिंह केसी र डा. नारायण खड्कापनि बीआरआईबारे अब एमसिसीजस्तै सदनमा नै छलफल हुनुपर्ने माग गर्ने तहमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणको मुखमा कांग्रेस नेताहरु बीआरआईबारे यसरी मुखरित हुनुलाई एमाले नेतृत्व पँक्तिले निको मानेको छैन् । प्रधानमन्त्री ओली यतिवेला परराष्ट्र मामिला सल्लाहकारविहीन छन् । विगतको सरकारको नेतृत्वमा हुँदा ओलीलाई परराष्ट्र मामिलामा डा. राजन भट्टराईले सघाएका थिए । यसपटक भट्टराई सक्रिय राजनीतिको मैदानमा उत्रिएका छन् । उनलाई बाग्मती प्रदेशको ईन्चार्ज बनाईएको छ । र, विदेश विभाग प्रमुखमा पूर्व परराष्ट्रमन्त्री रघुवीर महासेठलाई ल्याईएको छ । महासेठ विदेश मामिलासम्बन्धी विज्ञको रुपमा त्यति परिचित नेतामा पर्दैनन् ।

उनीसँग यसअघिको ओली कार्यकालमा एक महिनाभन्दा कम परराष्ट्रमन्त्री बनेको अनुभवबाहेक यो मामिलामा खासै गहिरो ज्ञान छैन भनेर एमाले नेताहरुले नै आलोचना गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीको यस कार्यकालमा पहिलो विदेश भ्रमण चीन हुँदैछ । चीन भ्रमणको विषयमा कांग्रेससँग भ्रमणको एजेण्डाबारे साझा धारणा अहिलेसम्म बन्न सकेको छैन् ।

आफ्नै विदेश मामिला सल्लाहकार नहुँदापनि ओलीलाई चीन भ्रमण सर्वस्विकार्य बनाउन केही असहज भएको हो कि भन्ने चर्चा चल्न थालेको छ । प्रधानमन्त्री ओलीलाई हुन त यो मामिलामा अहिलेपनि राजन भट्टराई, डा. अर्जुन कार्की, डा. युवराज खतिवडा र डा. अञ्जान शाक्य र डा. विमला पौड्याललगायतले सघाएको बताईन्छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा कांग्रेसको कुनै अवरोध नहोस र भ्रमणको क्रममा कांग्रेसको सहमतिबिना कुनै महत्वपूर्ण सम्झौता वा निर्णय नलिने कुरा यसअघि नै प्रष्ट भैसकेको छ । भ्रमणको तयारी परराष्ट्रमन्त्री डा. आरजु राणाले गर्ने भनिएको छ । यस्तै, भ्रमणको लागि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिने भनेर दुई दलबीच सहमति बन्नुले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि नै उनलाई कसाउने काम भएको भनेर चर्चाको विषय बनेको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्