Logo

पपुलिजमको नाममा कुलमानले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको महेश बस्नेतको आरोप (भिडिओसहित)



काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङको आलोचना गरेका छन् । उनले लोकप्रियताको नाममा स्टण्डबाज नगर्न कुलमानलाई चेतावनी दिए ।

रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘कुलमानले राजनीति गर्ने हो भने राजनीतिक फिल्डमा आउँदा राम्रो हुन्छ । मलाई लाग्छ रविजी र बालेनजीहरुको तुलनात्मक रुपमा ठीक छ, उहाँहरुले राजनीतिक फिल्डमा आएर च्यालेञ्ज गर्नुभएको छ । अब सरकारको मानो खाएर सरकारकै कर्मचारी भएर पपुलिज्मको आवरणभित्र भ्रष्टाचार र अकुत सम्पत्ति कमाएर च्यालेञ्ज गर्ने कुरा राम्रो होईन भन्न चाहन्छु ।’

उनले कुलमानलाई उर्जामन्त्री दीपक खड्काले चाह्यो भने हटाउनपनि सक्ने दाबी गरे । उनले भने,‘कुलमानजीको नियुक्ती नै हिजो चाहीँ विद्युत आयोग बनाएर भएको हो । सरकारले चाह्यो भने त प्रचण्डले जसरी बनाउनुभयो, त्यसरी नै लैजानसक्छ । कुलमानजीलाई विद्युत आयोगमा लैजान सक्छ नि ।’

नेता बस्नेतले कार्यकारी निर्देशक घिसिङलाई ‘लोकप्रियताको जगमा आफूलाई भ्रष्ट छवि बनाइरहेका व्यक्ति’ को रुपमा चित्रण गरे । पाटन उच्च अदालतले कुलमानले २ अर्ब १५ करोड उहाँको ठेक्का प्रक्रिया अनियमित गरेको भनी फैसला गरिसकेको उनको दाबी छ । कुलमान प्राधिकरणको एमडी भएदेखि नै उनका दाजुभाइ संलग्न भएका कम्पनीले मात्रै प्राधिकरणका ठेक्का पाइरहेको उनको आरोप छ ।

‘कुलमान घिसिङ लोकप्रियताको जगमा आफूलाई भ्रष्ट छवि बनाइरहेका व्यक्ति हुन् । यो कुरामा कुनै डाउट रहेन । यो कुरा हिजो भन्दा हामीमाथि साथीहरुले आलोचना गर्नुभएको थियो । आज पाटन उच्च अदालतले २ अर्ब १५ करोड उहाँको ठेक्का प्रक्रिया अनियमित हो भनेर फैसला गरेको स्थिति छ । उहाँ एमडी भएदेखि नै उहाँका दाजुभाइ जोडिएका कम्पनीबाहेक अरु कुनै पनि कम्पनीले ठेक्का प्राप्त गरेका छैनन्,’– नेता बस्नेतले भने ।

विद्युत प्राधिकरणमा कार्यरत तलका हाकिमहरुलाई तार किन्ने, विद्युतको पोल गाड्ने र मर्मत गनेसम्मका अधिकार भएपनि कुलमानले केन्द्रीकृत गरेर सामुहिक रुपमा ठेक्का गरिरहेको नेता बस्नेतको आरोप छ । कुलमानको एक जना भाइले लामा कन्स्ट्रक्सनको ३० प्रतिशत शेयर किनेर साँगादेखि बनेपासम्मको ठेक्का लिएको नेता बस्नेतले बताए । साथै, कुलमानका राजनीतिक संरक्षकहरु तत्कालीन शासक प्रचण्डलगायतलाई उक्त ठेक्कावापत १४ करोड रकम बुझाइएको नेता बस्नेतको आरोप छ । कुलमानले ठेक्का प्रक्रियाका लागि ३५ वटा भन्दा बढी कम्पनी दर्ता गरेको, सोसल मिडिया र युट्युवहरुलाई आफ्नो पक्षमा परिचालन गरेको र आफ्नो दम्भको कुनै सीमा नै नराखी अराजकता मच्चाएको उनको आरोप छ ।

साथै, ट्रान्समिसन लाइनको डिपिआर हेरेर कुलमानले आफ्ना मान्छेहरुलाई सस्तोमा जग्गा खरिद गर्न लगाउने र पछि त्यही जग्गा महँगोमा प्राधिकरणले खरिद गर्नेगरेको उनको आरोप छ । कुलमानको लगानी रहेको १२ वटा हार्डवेयर पसलहरु रहेको, कुलमानका दाजुभाइहरुले त्यसलाई सञ्चालन गरेको र हाइड्रो पावरहरुमा आफ्नै हार्डवेयर पसलबाट सामान खरिद गर्न बाध्य बनाइने गरिएको नेता बस्नेतको आरोप छ ।

कुलमानको यी विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिको विषय बनिसकेको उनले बताए । उनले कुलमान भ्रष्टाचारमा रमाइरहेको टिप्पणी गरे । ‘कुलमानजी पपुलरारिटीको आडमा नेपाली जनताको सम्पत्तिमाथि भ्रष्टाचार गरिरहेका छन् । अकुत सम्पत्ति कमाइरहेका छन्, गडबड गरिरहेका छन् । यो कुरा हामीले भन्न सक्नुपर्छ । यसलाई उजागर गर्नसक्नुपर्छ,’– नेता बस्नेतले भने ।

साथै, डेडिकेटेड टंङ्क लाईनको बक्यौता विवादका सन्दर्भमा लाल आयोगको प्रतिवेदनअनुसार अगाडि बढ्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्