Logo

लेबनानमा दुई महिनाभन्दा कम समयमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु : राष्ट्रसङ्घ



जेनेभा,४ मङ्सिर । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना भन्दा कम समयमा २०० भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

यो कहाली लाग्दो घटनाले चिन्ताजनक अवस्था देखा परेको जनाउदै राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले बालबालीकाको मृत्यु र हिंसा रोक्न अत्यावश्यक रहेको बताएका छन् ।

उनका अनुसार लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक हजार एक सय बढी बालबालिका घाइते भएका छन् ।

हिज्बुल्लाहले गत वर्षको अक्टोबरमा गाजामा प्यालेस्टिनी उग्रवादी समूह हमासको समर्थनमा इजरायलमा रकेट प्रहार गर्न थालेको थियो ।

गत सेप्टेम्बर देखि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढलाई लक्षित गर्दै व्यापक अभियान सञ्चालन गरेको छ, यद्यपि केही आक्रमणले इरान समर्थित समूहको नियन्त्रण बाहिरका क्षेत्रहरूमा प्रहार गरेका छन् ।

इजरायलमा हिजबुल्लाहको आक्रमणबाट झडप सुरु भएदेखि लेबनानमा तीन हजार ५०१ जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।

गत वर्षको अक्टोबरमा गाजामा युद्ध सुरु भएदेखि लेबनानमा कम्तीमा २३१ बालबालिकाको मृत्यु भएको एल्डरले बताएका छन् ।

लेबनानमा पनि गाजामा जस्तै डरलाग्दोे बालबालिकाको नरसंहार चलिरहेको बताउदै उहाँले घरबारविहीन भएका लाखौं बालबालिकाहरू आधारभुत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा रहेको बताएका छन् ।

लेबनानी अधिकारीहरूका अनुसार नोभेम्बर–१५ देखि २०० भन्दा बढी स्वास्थ्य कर्मचारीहरूको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाईते भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्