काठमाडौं, १० मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको देशको लागि हो कि तीर्थयात्रामात्रै हो ? भन्दै प्रश्न गरेका छन् । आजबाट सुरू भएको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष साहले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे सिंगो देश र जनतालाई जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रश्न उठाए ।
साहले अहिले विश्वसामू नै नेपालको इमेज खस्किँदै गएको टिप्पणी गरे । उनले भने,‘आज विश्वसामू नेपालको इमेज खस्किँदै गैरहेको छ । यो सरकारको व्यक्तिवादी र निहीत स्वार्थ अनि सोचको कारण यस्तो अवस्था भएको हो । छिमेकीहरुसँगको हाम्रो सम्बन्ध पनि धराशयी हुँदैछ । हामी सुन्दैछौं प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो ? देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो ? चीन भ्रमणबारे जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्यौलमा छौं । प्रधानमन्त्रीको भ्रमण एउटा व्यक्तिगत भ्रमण हुने, निहित स्वार्थमा हुने कि देश र जनताको लागि भ्रमण हुने ? यो गम्भीर प्रश्न खडा छ । अहिले नेपालको विभिन्न देशसँगको कुटनीतिक सम्बन्ध कमजोर हुँदैछ । ध्वस्त हुँदैछ ।’
पूर्वमन्त्री साहले मुलुकमा यतिवेला लोकतन्त्रविरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त गरे । देशको बागडोर सम्हालेको सरकार प्रमुखको गतिविधिकै कारण यस्तो अन्यौलपूर्ण अवस्था सिर्जना भएको साहको टिप्पणी छ । उनले भने,‘देशमा यतिवेला लोकतन्त्रविरोधी गतिविधि दिनानुदिन बढ्दो छ । सुरक्षाको जिम्मा पाएको सरकारबाट नै जनता असुरक्षित छन् । अभिव्यक्ति स्वतन्त्रताको अधिकार यतिवेला मजाक बनेको छ । अहिले त सरकारले जे पनि गर्ने तर जनताले विरोध पनि गर्न नपाउने अवस्था बनाईएको छ । सडकमा नागरिकले शान्तिपूर्ण आन्दोलन गर्दा अपराधी हुने, तर प्रधानमन्त्रीले सडकमै मञ्च बनाएर सभा गर्दा महान हुने ?’
साहले सरकारको नेतृत्वमा बसेका दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) कानूनभन्दा माथि बन्न खोजेको आरोप लगाए । उनले भने,‘अहिले कानूनले एमाले र कांग्रेसलाई छुँदैन् । अस्ति एमालेले त्यत्रो सडकमा फोहोर गर्यो, उसले त्यो सफा गर्ने दायित्वपनि ठानेन । काठमाडौं महानगरपालिकाले कानूनअनुसार जरिवाना तोक्दापनि स्विकार्य भएन । किनकी एमाले र कांग्रेस अहिले कानूनभन्दा माथि छन् भन्ने सन्देश प्रवाह भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको, कांग्रेस र एमालेको त आलोचना नै गर्नुहुँदैन्, यदि आलोचना गर्यो भने मुद्दा लागिहाल्छ । साईबर क्राइम थेग्नुपर्छ । प्रधानमन्त्री ओलीको आलोचना गर्दा र प्रश्न उठाउँदा त्यसको छानबिन हुनुपर्ने हो, तर आज कानूनी शासनको उपहास हुँदैछ ।’
साहले वर्तमान कांग्रेस–एमालेको सरकार जग नै अलोकतान्त्रिक भएको टिप्पणी गरे । उनले थपे,‘यो सरकार गैरलोकतान्त्रिक धरातलमा बनेको छ । यो सबै जनतालाई पनि थाहा छ । होईन भने म प्रधानमन्त्रीजीलाई प्रश्न गर्न चाहन्छु–गत चुनावमा तपाईंले कांग्रेससँग प्रतिष्पर्धा गर्नुभएको थियो । कांग्रेससँग चुनाव लड्नुभएको थियो, तर आज कांग्रेससँग सरकार बनाउनुभयो । कुन नैतिकताले बनाउनुभयो ? तपाईं नैतिकवान भएको भए कांग्रेससँग सरकार बन्दैन थियो । कुनैपनि लोकतान्त्रिक देशमा जनादेशविपरित जाने अधिकार हुँदैन्, तर तपाईंले जे पनि गर्न थालिरहनुभएको छ, त्यो अलोकतान्त्रिक छ । अहिले देशको अर्थतन्त्र बर्वाद गर्नुभयो । मनपरी कर असल्नुभएको छ । सरकारपिच्छे करको आतंक छ । तर, सरकारले आफ्नो दायित्व केही पनि बुझेको छैन् । सरकार मातहतका उद्योग बन्द छन् । व्यक्तिगत उद्योग चाहीँ किन नाफामा छन् । सरकारी उद्योग र संस्थानहरु सबै घाटामा छन् । सरकारी अस्पताल, विद्यालय, विश्वविद्यालय सबै अस्तव्यस्त छन् । अब जनतलाई ऋण बोकाउने काम सह्य हुँदैन । अहिले जनतालाई सरकारले आँफै कुट्ने र रुन नदिने अवस्था सिर्जना गरेको छ । यो चिन्ताको विषय हो । आज राष्ट्र नै खतरामा छ । राष्टिय पुँजी विदेश पलायन गरिएको छ । अहिले तमाम बेथिति र बर्वादीको अवस्था सिर्जना गरिएको छ, देशमा लोकतन्त्रको रक्षाको लागि तेस्रो जनआन्दोलनको अवस्था छ । यो बैठकले त्यस दिशामा ऐतिहासिक निर्णय लिने अपेक्षा लिएको छु ।’