Logo

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै, फेरि कास्की नै लगेर बयानका लागि चितवन लगिने



काठमाडौं, मंसिर ११ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।

अनुसन्धानका लागि ४० दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले मंसिर २ गते जारी गरेको पक्राउ पुर्जीको आधारमा पोखराबाट काठमाडौं ल्याउन लागिएको हो । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा उनको बयानका लिइनेछ ।

काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक र छविलाल जोशी उपाध्यक्ष रहेका बेला स्वर्णलक्ष्मी सहकारीको रकम लगेर अपचलन गरेको प्रकरणमा काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको हो । उक्त सहकारी ठगीमा लामिछाने र जोशीको पनि संलग्नता भेटिएपछि अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरीले जनाएको छ ।

उनलाई यसअघि सुप्रिम सहकारीको बचत अपचलनबारे बयानका लागि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालय लगिएको थियो। काठमाडौंमा बयान सकिएपछि उनलाई फेरि कास्की नै लगिने छ। लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारीभएकाले त्यसपछि उनलाई बयानका लागि चितवन लगिने छ।

कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।



प्रतिक्रिया दिनुहोस्