काठमाडौं, मंसिर १२ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको आज त्रैमासिक समीक्षा हुने भएको छ। त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन्।
प्रधानमन्त्री ओलीले गत भदौ २७ गते चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरु र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता गरेका थिए ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको थियो ।
अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गतें) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश रहेका थिए । प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।