Logo

रघुगङ्गामा स्वास्थ्य शिविर



म्याग्दी, १७ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।

रघुगङ्गा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको शिविरबाट एक हजार एक सय २७ जनाले सेवा लिएका हुन् । रघुगङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख टीकाबहादुर शाहीले सात सय ८५ महिला र तीन सय ४२ जना पुरुषले शिविरबाट सेवा लिएका जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नशा, छाला, सामान्य चिकित्सा, स्त्रीरोग, नाक, कान घाँटी र दाँत रोगसम्बन्धी बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, इसिजी, प्रयोगशालासँगै परामर्श र निःशुल्क औषधि वितरण गरिएको छ ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य, चिकित्सक विनोद बराल, विशाल सापकोटा, मनिसा बराल, दीक्षा क्षेत्रीसहित २० जना बढीको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बेग, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका बासिन्दाले सेवा लिएका बताए । भौगोलिक विकटता, आर्थिक अभाव र पारिवारिक समस्याका कारण उपचार सेवा नपाएका बिरामीलाई लक्षित गरेर शिविर आयोजना गरेको उनले बताए ।

भौगोलिकरुपमा टाढा रहेका वडा नम्बर ४, ५, ६, ७ र ८ का सर्वसाधारणलाई शिविरमा ल्याएर स्वास्थ्य उपचार लिनका लागि वडाको समन्वयमा यातायातको प्रबन्ध मिलाइएको थियो ।

चिकित्सकबाट स्वास्थ्य उपचार सेवा लिन गाउँ छाडेर सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता शिविरले हटाएको शिविरमा स्वास्थ्य उपचार गर्न आएका रघुगङ्गा गाउँपालिका–२ भगवतीका ८६ वर्षीय लेठबहादुर खत्रीले बताए । शिविरमा रघुगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण र उपचारमा सघाएको वडा नं २ का अध्यक्ष अमृत भण्डारीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्