Logo

उपनिर्वाचनमा राप्रपा पराजित भएपछि खुश्बु ओलीको प्रश्न : आलोचना मात्र गर्ने कि योगदान दिने?



काठमाडौं, १८ मंसिर । राप्रपाकी प्रभावशाली नेतृ तथा प्रशिक्षण विभाग उपप्रमुख खुश्बु ओलीले उपनिर्वाचनमा पार्टीको पराजयबारे आलोचना गर्नेहरुमाथि नै प्रश्न उठाएकी छिन् । उनले योगदान नदिनेहरुले आलोचनामात्रै गर्न नसुहाउने टिप्पणी गरेकी छिन् ।

उनले उपनिर्वाचनले दिएको पाठबारे आफ्नो सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएकी हुन् । उनले लेखेकी छिन्–‘यो समय आलोचना मात्र गरेर चुप बस्ने होइन, परिवर्तनमा हातेमालो गर्ने हो। पार्टीले पनि यो उपनिर्वाचनबाट सिकेका पाठहरूलाई कार्यान्वयनमा लाग्नुपर्दछ। हामीले सकारात्मक सुझावहरू र रचनात्मक आलोचनालाई स्वीकार गर्नुपर्ने हुन्छ। कुनै पनि संगठन वा पार्टीलाई सुदृढ बनाउनका लागि आलोचना र सुझावहरूलाई खुलेर सुन्ने र त्यसलाई सुधारका अवसरमा बदल्ने क्षमता हुनुपर्छ। आलोचनाले कमजोरी औंल्याउँछ भने सुझावले सुधारको बाटो देखाउँछ ।’

उनले राप्रपाको सिद्धान्तमा विश्वास गर्ने व्यक्तिहरूको लगनशीलता आफूहरु नयाँ जोडिएकाहरूको लागि प्रेरणा भएको ओलीको भनाई छ । उनले थप भनेकी छिन्–‘यस निर्वाचनमा रातदिन खटेर पार्टीको एजेण्डा अघि बढाउन मिहिनेत गर्ने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको अथक प्रयास, दृढता, र समर्पणले हामीलाई अझ उत्साहित बनाएको छ। यो चुनावले देखाएको चुनौतीलाई अवसरमा बदल्न तपाईंहरूको योगदान अमूल्य छ। अब सबै मिलेर अघि बढ्नुपर्छ ।’

यस्तो छ उपनिर्वाचनको मतपरिणामबारे खुश्बुको धारणा-

उपनिर्वाचनले दिएको पाठः आलोचनाका बिच हाम्रो बाटो

राष्ट्रिय प्रजातन्त्र पार्टीले उपनिर्वाचनमा चाहेजस्तो नतिजा ल्याउन नसके पनि यसले गहिरो आत्मसमीक्षा र आगामी रणनीतिका लागि धेरै पाठ सिकायो। तर, सधैंजसो, नतिजापछि एक समूह देखा प¥यो, जसले योगदान केही गर्दैन, तर आलोचना गर्न जहिल्यै तयार रहन्छ।

१.हामी सबैको प्रश्नः तपाईले के गर्नुभयो?

चुनावको बेला पार्टीलाई साथ दिन एक दिनसमेत नपुगेकाहरू अहिले सामाजिक सञ्जालमा ‘विश्लेषक’ बनेर गलत प्रचारमा जुटेका छन्। हामी सबैलाई प्रश्न सोध्न मन छ, तपाईले चुनावको नतिजा परिवर्तन गर्न के गर्नुभयो? आलोचना गर्नुअघि आफ्नो योगदानको हिसाब किताब गर्नुहोस्।

हामी जनता प्रति, हाम्रो समाज प्रति र यो देश प्रति कति उत्तरदायी छौं त? नेता मात्रै भएर बस्ने कि चुनाव बाहेकका हरेक दिन जनताका गुनासा सुन्ने र उहाँहरूलाई “हामी छौं” भन्ने अनुभूति गराउन आफ्नै वडामा, नगरमा र क्षेत्रमा गएर जनताका गुनासा सुन्ने गरौं।

जहाँ नेताहरूले जनताको लागि काम गरेका छन्, जुन ठाउँमा जनता केन्द्रित भएका छन्, त्यहाँ चुनाव पनि जितेका छन्, त्यो कुरा प्रत्यक्षमा निर्वाचित हुने सांसदहरूले प्रमाणित गरिसक्नुभयो। कहिलेकाहीँ अथक प्रयास गर्दागर्दै पनि चुनाव हार्न सकिन्छ त्यसलाई स्वीकार पनि गर्नुपर्छ।

तर, घरमै बसेर टीका–टिप्पणी गरेर कसैको हित हुँदैन। राजनीति नै गर्नुछ भने जनताको लागि गरौं, आफ्नै क्षेत्रको लागि गरौं। काठमाडौं बसेर टिप्पणी मात्र गरेर, सामाजिक सञ्जालमा धारणा व्यक्त गर्नु व्यर्थ छ। यो देश बनाउने हो भने, आफ्नो पार्टीको विरुद्ध हैन, जनताको पक्षमा बोल्नुस्।

२.नेतृत्वले मात्र के गर्ने?

पार्टीलाई अगाडि बढाउन नेतृत्वमाथि मात्र भर पर्नु कत्तिको न्यायोचित हो? नेतृत्वले रातदिन मिहिनेत गर्दा पनि केही व्यक्तिहरू चाहिँ कुर्सीमा बसेर “सबै नेताको जिम्मा हो“ भनेर पन्छिनु हुँदैन। पार्टी हरेक सदस्यको हो। कसैले पनि योगदान दिन नसक्ने तर दोष दिन सक्ने यो प्रवृत्तिको अन्त्य जरुरी छ।

३.गाउँ फर्क अभियानः जिम्मेवारीको पहिलो खुड्किलो

नेतृत्व राजधानी केन्द्रित छ भनेर गुनासो गर्नेहरूले गुनासोभन्दा अघि जिम्मेवारी लिनुहोस्। दुई वर्ष गाउँ फर्केर आफ्नो जिल्लामा काम गर्नुस्। टोलबाट सुरु गरेर वडासम्मको संरचना बलियो बनाउनुहोस्। पार्टीलाई मात्र दोष दिएर सच्चिन सकिँदैन, हरेकले भूमिका निभाउनुपर्छ।

४.कमजोर संरचना र हामी सबैको कर्तव्य

पार्टीको तल्लो तहको संरचना कमजोर छ। यसलाई सुधार गर्न नेतृत्व मात्र होइन, हामी सबै लाग्नुपर्छ। के तपाईंले आफ्नो वडामा एकपटक पनि पार्टीको कार्यक्रम गर्नुभयो? जनताको घरदैलोमा पुग्नुभयो?
पार्टीले उठाएका एजेण्डाहरू बलिया छन्, तर तिनलाई जनतासम्म पुर्याउने जिम्मा तपाईं हामी सबैको हो।

५.एउटै स्वरः भावनात्मक एकता

पार्टीभित्र भावनात्मक एकता अभाव छ। आलोचना गर्नुभन्दा पहिला आफूले के गर्न सकिन्छ भनेर सोच्न जरुरी छ। एकताबिना न पार्टी अघि बढ्छ, न हामी।

६.उम्मेदवार र स्थानीय नेताहरूको भूमिका

उम्मेदवार छनोटमा पनि सकस स्पष्ट छ। तर स्थानीय नेता र कार्यकर्ताको भूमिका पनि यहाँ प्रश्न गर्नुपर्छ। के तपाईं आफ्नो क्षेत्रका समस्यासँग जोडिनु भएको छ? जनताले तपाईंलाई देख्न र महसुस गर्न सकेका छन्?

७.सामाजिक सञ्जालमा सक्रियता

हाम्रो सामाजिक सञ्जाल र मिडियामा उपस्थिति अझै कमजोर छ। यसलाई सुधार्न केन्द्रिय स्तरमा वृहत योजना आवश्यक छ। तर यो पनि नेतृत्वको मात्र जिम्मेवारी होइन। हरेक सदस्यले आफ्नो पहुँचको उपयोग गर्नुपर्छ।

८.अन्तिम प्रश्नः आलोचना मात्र गर्ने कि योगदान दिने?

यो समय आलोचना मात्र गरेर चुप बस्ने होइन, परिवर्तनमा हातेमालो गर्ने हो। पार्टीले पनि यो उपनिर्वाचनबाट सिकेका पाठहरूलाई कार्यान्वयनमा लाग्नुपर्दछ। हामीले सकारात्मक सुझावहरू र रचनात्मक आलोचनालाई स्वीकार गर्नुपर्ने हुन्छ। कुनै पनि संगठन वा पार्टीलाई सुदृढ बनाउनका लागि आलोचना र सुझावहरूलाई खुलेर सुन्ने र त्यसलाई सुधारका अवसरमा बदल्ने क्षमता हुनुपर्छ। आलोचनाले कमजोरी औंल्याउँछ भने सुझावले सुधारको बाटो देखाउँछ।

राप्रपाको सिद्धान्तमा विश्वास गर्ने व्यक्तिहरूको लगनशीलता हामी नयाँ जोडिएकाहरूको लागि प्रेरणा हो। यस निर्वाचनमा रातदिन खटेर पार्टीको एजेण्डा अघि बढाउन मिहिनेत गर्ने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको अथक प्रयास, दृढता, र समर्पणले हामीलाई अझ उत्साहित बनाएको छ। यो चुनावले देखाएको चुनौतीलाई अवसरमा बदल्न तपाईंहरूको योगदान अमूल्य छ। अब सबै मिलेर अघि बढ्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्