काठमाडौं, २२ मंसिर । भारतको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको निर्माणको लागि शिलान्यास भएको छ । तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माण हेतु तेह्रथुम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
नेपाल–भारत विकास सहकार्युअन्तर्गत भारत सरकारको आर्थिक सहयोग नेरु ३.५४ करोड लागतमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिनेछ। उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।
नेपाल–भारत विकास सहकार्युअन्तर्गत भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुई तल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिने नेपालस्थित् भारतीय दूतावासले जनाएको छ । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको दूतावासले जनाएको छ । अझ तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको जनाईएको छ । यीमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। त्यसमध्ये खाम्लालुङ स्वास्थ्य चौकीलाई एउटा एम्बुलेन्ससहित कोशी प्रदेशलाई १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको भारतीय दूतावासले जनाएको छ । ती परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको पनि दूतावासले स्पष्ट पारेको छ ।