Logo

एमालेको उम्मेदवार कांग्रेसको चुनाव चिन्हमा लड्ने कुरा गल्ती नै हो : शंकर पोखरेल



काठमाडौं, २३ मंसिर । प्रमुख सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान संशोधनको काम डेढ बर्षपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताएका छन् ।

दाङको लमहीमा आइतबार नेकपा (एमाले) दाङ निर्वाचन क्षेत्र नम्बर– १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान संशोधनको काम उचित समयमा सुरु गरिने बताएका हुन् ।

‘हामी दुईटा राजनीतिक दल मिल्नुको कारण सरकार मात्रै होइन । राजनीतिक स्थायित्वको आधार तयार गर्न संविधान र कानुनमा सुधार गर्नेगरी दुई ठूला दलको बीचमा समीकरण बनेको हो’,उनले भने–राष्ट्रिय सभामा हाम्रो पक्षको दुईतिहाइ छैन । दुई तिहाइ नपुग्दासम्म संविधान संशोधनको एजेन्डा अघि बढ्न सक्दैन । संविधान संशोधनको बिषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन । डेढ बर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ ।

महासचिव पोखरेलले एमालेलाई आगामी २०८४ को निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिलेदेखिनै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिए । उनले अहिले नेपाली कांग्रेस र नेकपा (एमााले) ठूला दुई दल बीचमा सत्ता समीकरण भए पनि यो आगामी निर्वाचनमा पनि मिलेर लड्नका लागि नभएको र दुई दलबीच प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताए ।

भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा रुकमपूर्वमा भएको तालमेल सही नभएको भनाइ महासचिव पोखरेलको छ । ‘अहिले हामी कांग्रेससँग मिलेका छौं तर चुनावको बेलामा हामी एक्लाएक्लै लड्ने हो । रुकुमपूर्वमा एमालेको उम्मेदवार कांग्रेसको चुनाव चिन्हमा लड्ने कुरा गल्ती नै हो । त्यसो गर्नुहँुदैन्थ्यो । ठाउँ बिशेषमा तालमेल गर्ने कुरा स्थानीय बिशेषताको आधारमा हुनपनि सक्ला तर आफ्नो/आफ्नो चुनाव चिन्हमा लड्नुपर्दछ’, उनले भने–”एमाले–कांग्रेस जस्ता पार्टी अर्काको चुनाव चिह्नमा आफ्ना उम्मेदवार खडागर्ने कुरा चाहिँ उचित होइन । त्यो गलत हो । रुकुमपूर्वमा साथीहरूले गरेको गल्तीलाई पार्टीले आलोचना गरेको छ । भविष्यमा यसप्रकारको गल्ती हुने छैन ।”

महासचिव पोखरेलले उपनिर्वाचनको नतिजाले एमालेलाई कमजोर नभई थप सुदृढ बनाएको बताए । उनले पार्टी नेतृत्वका विरुद्धमा भइरहेका कुप्रचारलाई चिर्ने काममा दृढतापूर्वक उभिन पार्टीका कार्यकर्तालाई आह्वान गरे । भ्रमपूर्ण सूचनालाई हो कि हो कि भन्ने र बस्ने कि सत्य तथ्य पत्ता लगाउन अघि बढ्ने ? प्रश्न गर्दै उनले भने– “जे जति कुराहरू प्रचार गरिएका छन्, ती सबै भ्रमपूर्ण हुन् । कागले कान लग्यो भनेर कागपछि दौडने कि पहिला कान छाम्ने । पहिला त कान छाम्नुपर्ला नि ।”

गिरिबन्धु टि स्ट्रेट, कम्बोडियामा लगानीका बिषयहरूमा भ्रम छर्नेहरू अहिले समस्यामा परेको भन्दै उनले भ्रमको खेती गर्नेहरूलाई कानुनले दण्डित गर्ने बताए । एमालेलाई कमजोर बनाउँदा आफूहरू स्थापित हुन सकिन्छ भन्नेगरी स्वतन्त्र भन्नेहरूले भ्रमको खेती सुरु गरेको भनाइ उनको छ । उनले भने,”षड्यन्त्रबाट आत्तिने होइन, त्यसको सामना गर्ने हो । यो पार्टी कमजोर हुनेवाला छैन । देशमा विकास र समृद्धिको नेतृत्व गर्ने यही पार्टी हो ।”



प्रतिक्रिया दिनुहोस्