काठमाडौं, १ पुष । नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले अहिलेको सरकार कांग्रेस र एमालेकै कारण ढल्ने दाबी गरेका छन् । उनले आफूहरु अहिले सरकार ढाल्ने वा बनाउने खेलमा नलागेको स्पष्ट पारे ।
आज (सोमबार) कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेटेर निस्किएपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले रवि लामिछानेलाई चितवनबाट पोखरा लगिँदा राति उठाएर लगिएको भन्दै प्रहरीको उक्त कदमलाई अमानवीय कदमको संज्ञा दिए ।
उनले भने,‘उहाँलाई चितवनबाट राति उठाएर ल्याईयो, यसप्रकारका अमानवीय र मानवअधिकार उल्लंघनका काम कसैको हकमा पनि हुनुहुँदैन् ।’ उनले सरकारले सुशासन कायम गर्न नसके माओवादी चुप लागेर (मुकदर्शक) भएर हेरेर नबस्ने चेतावनी दिए । उनले भने,‘अहिले हामी भर्खरै हामी त्यता लागेका छैनौं, सरकार परिवर्तनको लागि प्रतिनिधिसभामा गणित पुग्नुपर्छ । अहिले हामी यो सरकार फेरेर अर्को बनाउने प्रक्रियामा हामी छैनौं । उहाँहरुकै कारणले ढल्छ सक्छ । उहाँहरुकै आपसी लेनदेन, हिसाबकिताब, मान्छेहरु सेटिङ गर्ने, विश्वविद्यालयमा सेटिङ गर्ने, व्यूरोक्रेसीमा सेटिङ गर्ने, प्रहरी प्रशासनमा सेटिङ गर्ने, अरु कतिपय कुरामा उहाँहरुको हिसाबकिताब मिलेन भने सरकार ढल्नसक्छ ।’
उनले कांग्रेस र एमालेसँग बहुमत भएपनि कुरा नमिलेको दाबी गरे । उनले भने,‘उहाँहरु ठूलो दलबलसहित चीन जानुभयो । अहिलेपनि तपाईहरुले सोध्नुभयो भने एउटा दलले बीआरआईमा हस्ताक्षर भएको हो भन्छ, अर्को दलले हस्ताक्षर भएको होईन भन्छ । त्यही कुराले पनि के प्रष्ट गर्छ भने सरकार आँफै कन्फ्युजनमा छ । अन्तर्राष्ट्रिय मुद्दाहरुमा कन्फ्युजनमा छ । सुशासनको क्षेत्रमा कन्फ्युजनमा छ । डेलिभरी दिने कुरामा कन्फ्युजनमा छ । यो सरकारले धेरै जनताको पक्षमा काम गर्लाजस्तो महसुस छैन् ।’ उनले अहिलेको सरकारले आफ्नालाई जोगाउने र विरोधीलाई फसाउनेतर्फ उन्मुख रहेको बताए ।