काठमाडौं, २ पुष । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली यही पुष २५ गते भारत भ्रमणमा जाने तय भएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओली चार दिने भ्रमणमा यही पुष २५ गते भारत जाने दाबी गरेका छन् ।
नेपाल सरकारले खासगरी परराष्ट्र मन्त्रालयका अधिकारीले अहिलेसम्म भ्रमणको मिति तय नभएको बताईरहेको बेलामा एमाले नेता बस्नेतले भने प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति नै सार्वजनिक गरेका छन् । यसअघि हिजोमात्रै एमालेका पूर्व विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पनि प्रधानमन्त्री निकटभविष्यमा भारत जाने दाबी गरेका थिए ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा भट्टराईले भनेका थिए,‘निकट भविष्यमा उहाँ भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा जानुहुन्छ । एउटा देशको प्रधानमन्त्री कसरी जाने भनेर प्रश्न गर्ने होईन नि ऋषिजी ।’
पत्रकार धमलाले उसो भए भ्रमणको लागि भारतबाट निम्तो आईसक्यो त भनेर राखेको अर्को प्रश्नमा भट्टराईले भने–‘निम्तो नआएको भए प्रधानमन्त्रीले म जान्छु भनेर बोल्नुहुन्छ ? प्रधानमन्त्रीले सार्वजनिक रुपमा बोलेको कुरा तपाईं÷हामीले रेडियो, टेलिभिजन अथवा चिया खाँदा गफ गरेको जस्तो कुरा हो र ?’ file photo