काठमाडौं, ५ पुष । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले एमालेमा सिनियर नेताहरुकै हालत खराब रहेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘आजको दिनमा एमालेका नेताहरुको के हालत छ ? सुरेन्द्र पाण्डेको के हालत छ ? गोकुल बाँस्कोटाको के हालत छ ? इश्वर पोखरेलको के हालत छ ? योगेश भट्टराईको के हालत छ ? किनकी पार्टीभित्रको अन्तरद्धन्द्धपनि चर्किएको छ । किनकी प्रधानमन्त्रीको घेरा साँघुरिँदै गैरहेको छ । जो अपोलिटिकल छ, त्यो कब्जा गर्न खोजिरहेको छ । युवराज खतिवडा त कहीँपनि दुई जना जता जोड्न सक्दैन नि । तर, त्यही व्यक्तिले सबभन्दा बढि कब्जा गरिरहेको छ । अर्थमन्त्रीमाथि सुपर अर्थमन्त्री बनिदिएको छ । उहाँलाई पदै खाँदाखाँदा जिन्दगी गएको छ । पद नै उहाँको लागि भारी भएको छ । कस्तो छ भने उहाँबिना नेपाल चल्नै नसक्ने जस्तो गरिएको छ । कहिले गभर्नर दिएको छ, कहिले योजना आयोगको उपाध्यक्ष बनाईएको छ, राष्ट्रियसभामा पनि उसैलाई लगिएको छ । मन्त्री पनि उसैलाई दिने, राजदूतपनि दिने । नेपालमा भएभरको सबै पद चाहीँ युवराज खतिवडालाई दिईएको छ ।’
उनले नेपालमा सहकारी ठगीबारे न्यायिक छानबिन समिति गठन भए त्यसमा सबभन्दा बढि एमाले र कांग्रेसले ठगी गरेको निस्किने दाबी गरे । सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन समितिलाई उनले रवि लामिछानेलाई फसाउन बनाईएको आरोप लगाए । उनले भने,‘त्यो त व्यक्तिकेन्द्रित रविलाई फसाउने छानबिन समिति हो, सूर्य थापा त दलीय कार्यकर्ता हो । अहिलेपनि तपाईं भन्नुहुन्छ- सर्वोच्चमा न्याय हुन्छ ? सर्वोच्चमा त दलको कार्यकर्ता न्यायाधीश छ, कसरी न्याय हुन्छ ? त्यसकारणले आफ्नै राजनीतिक दलको कार्यकर्तालाई छानबिन समितिमा राखेर निश्पक्ष छानबिन भन्न मिल्छ ?’
सांसद सिंहले सूर्य थापाले नै छानबिन समितिलाई र प्रक्रियालाई निरन्तरता दिएको भए कांग्रेस र एमालेका धेरै नेता फस्ने बताएको स्मरण गराए । उनले भने,‘सूर्य थापाले नै मलाई भनेको कि यदि यसलाई कन्टिन्यू गरेको भए कांग्रेस र एमालेको धेरै नेता फस्छ । आखिर त्यहाँपनि कांग्रेसको सभापतिको नाम छँदैछ, हाम्रै समितिको (सार्वजनिक लेखा समिति) का सभापति एमालेका नेताको श्रीमतीको नाम छँदैछ । त्यस्तो छ कति छ कति ?’ उनले रविलाई फसाउन एमालेले प्रपञ्च रचेको दाबी गरे ।
उनले भने,‘एमाले र रविको झगडा कहाँ सुरु भयो भने जब रविले संसदकै रोष्ट्रमबाट भनेका थिए कि गिरिबन्धुको छानबिन गर्छु र कांग्रेस कहाँ आँत्तियो भने जब बेचन झाको एरेष्टिङपछि यो जुन भुटानी शरणार्थी प्रकरणमा जुन मैले सर्ट खोलेको थिएँ, त्यसमा माथिसम्म पुग्ने भयो, त्यसमा त पुग्दैपुग्दैन । चाहे अदालत होस, चाहे अख्तियार होस, माथिसम्म पुग्दैन् । तल जुन झोला बोक्ने भरियालाई कारबाही हुन्छ । मालिकलाई कारबाही हुँदैन् । भ्रष्टाचार गर्ने प्रधानमन्त्री, पार्टी अध्यक्ष उसलाई कारबाही गर्दैन् ।’
उनले भने,‘जबसम्म कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँको पत्नीको इमेज ठिक हुँदैन, कसैले भ्रष्टाचारको कुलदेवी भन्छ, आजसम्म जति ठूला ठूला भ्रष्टाचार भएको छ, यिनीहरुबाहेक कसैले गरेको छ ? चाहे वाईडबडीको होस, चाहे एनसेलको कर छलीको होस, एनसेलको मुद्दा म लडिरहेको छ । म आँफै बहस गरिरहेको छु ।’
उनले आफूले तत्काल नेपालमा महिला प्रधानमन्त्री बन्ने सम्भावना नदेखेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई मुख्यसचिव बनाएँ भनेर भनेको कुरामा टिप्पणी गर्दै भने,‘मुख्यसचिव त मेरिटबाट आउनुपर्दथ्यो, तर तीन वर्षको लागि बनाउनुपर्दथ्यो नि ।’ उनले नेपालमा महिला प्रधानमन्त्री बन्लाजस्तो आफूलाई नलगाएको स्पष्ट पारे । आरजुबारे सोधिएको प्रश्नमा उनले अघि थपे–‘मैले महिला नै प्रधानमन्त्री हुने देखेकै छैन् । आरजु राणा नेपालको प्रधानमन्त्री बन्दैन, बाँकी कुन देशको बन्छ मलाई थाहा छैन् ।’