Logo

गहुँ छाडेर मकैखेतीतर्फ आकर्षित सुनसरीका किसान



सुनसरी, पुस ६ । भोक्राहा नरसिंह गाउँपालिका-६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे। यसका लागि एक लाखदेखि एक लाख ५० हजार रुपैयाँ लागत पर्थ्यो। वार्षिकरूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आएको थियो । यसबाट वार्षिकरूपमा ७२ हजार आम्दानी हुन्थ्यो।

पछिल्लो समय साह गहुँखेती छोडेर मकैखेती गर्नका लागि शुरू गरेका छन्। उनले अहिले एक बिघा १० कट्ठा खेतमा मकैखेती गरेको जानकारी दिए। एक लाखदेखि एक लाख ५० हजारको लगानीमा गरेको मकैखेतीबाट चार लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा १० कट्ठामा मकैखेती गरेको उनले बताए।

वार्षिकरूपमा १०० देखि १२० क्विन्टलसम्म उत्पादन गरेर वार्षिकरूपमा चार लाख आम्दानी हुने गरेका कारण मकैखेतीतर्फ आकर्षित भएको उनी बताउँछन्।
पछिल्लो समय सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन् ।

जिल्लामा पछिल्लो समय वार्षिकरूपमा गहुँखेती गर्ने कृषकको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको छ भने मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए।

आर्थिक वर्ष २०८०र०८१ मा सुनसरीमा १२ हजार २ सय ४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१/०८२ मा १२ हजार १२५ हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको कार्यालय प्रमुख सिंहले बताए।

त्यसैगरी आव २०८०/०८१ मा सुनसरीमा १० हजार ६४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेका कारणले यसमा वृद्धि हुने उहाँले जानकारी दिए। आव २०८०/०८१ मा ३.३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा ७ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको सिंहले जानकारी दिए।

मकैखेतीमा उत्पादकत्व बढी हुनु, बजार भाउ बढी पाउनु र कुखुराको दाना बनाउनका लागि प्रयोग गर्नुलगायतका कारणले बढी मात्रमा जिल्लाका किसान मकैखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिए। सुनसरीमा हाइब्रिड ३३, ५५, ७७, रामपुरकम्पोजीट, कारगील, अल्राउण्डरलगायतका जातका मकैखेती हुने गरेको केन्द्रले जनाएको छ। रासस



प्रतिक्रिया दिनुहोस्