काठमाडौं, ७ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । हिजो (शनिबार) कैलालीको धनगढीमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिम प्रदेशको अधिवेशन उदघाटन् गर्दै नेता कोइरालाले प्रधानमन्त्री ओलीले विद्युतको महशुल नतिर्ने उद्योगीको पक्षपोषण गरेको भन्दै आलोचना गरेका हुन् ।
उनले भने–‘कुलमान घिसिङले उद्योगको बक्यौता उठाउनुपर्छ भनेर लाइन काटिदिनुभयो । प्रधानमन्त्रीले संसदको रोेष्ट्रममा उभिएर खोल्छु भन्नुभयो । दुई चार करोडको कुरा छैन, अर्बौंको कुरा छ । हामीले दुई महिना विद्युतको पैसा नतिरे काट्दिन्छ, तर प्रधानमन्त्रीले बत्ती जोड्न निर्देशन दिनुभयो । त्यो गलत कुरा हो ।’
सो क्रममा उनले प्रधानमन्त्री ओलीले केही दल विभाजन गर्ने उद्देश्यले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको भएपनि आफूहरुले विरोध गरेपछि रोकिएको स्पष्ट पारे । उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको पनि टिप्पणी गरे । कोइरालाले सरकारले राजश्व बढाउनेगरि काम नगरेको आरोप लगाए।
Photo Source: Dinesh Chandra Thapaliya/Facebook