Logo

बुद्धि भ्रष्ट भएमा काम लाग्दैन : प्रधानमन्त्री ओली



काठमाडौं, ७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुने बताएका छन् । तर, ज्ञान, बुद्धि र मति भएपनि बुद्धि भ्रष्ट भएमा काम नलाग्ने टिप्पणी गरेका छन् । नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई हिजो (शनिबार) इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भनेका थिए,‘मानिसमा शालिनता र विनम्रता चाहिन्छ । आफूभित्र घमण्ड हुनु हुँदैन ।’

सो क्रममा उनले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको दाबी गरेका थिए । प्रधानमन्त्री ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको पनि दाबी गरे ।

‘हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा शालिनता र विनम्रता चाहिन्छ । आफूभित्र घमण्ड हुनु हुँदैन ।–उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्