Logo

आज स्वदेश फर्कँदै परराष्ट्रमन्त्री राणा, भएन मोदी र एस जयंशकरसँग भेट



काठमाडौं, पुस ८ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कदैछिन्। उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी थिइन् । युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् ।

दिल्ली बसाइँका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयंशकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्री मोदी र विदेशमन्त्रीको त्यसअघि नै तय भएको विदेश भ्रमणका कारण मन्त्री राणा भेटनगरी स्वदेश फर्किन लागेकी हुन् ।

स्वास्थ्य परीक्षणका क्रममा दिल्लीमा रहेकी उनले शुक्रबार भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी छन् । सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरिन् ।
मन्त्री डा. राणाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरूसँग थप उडानका लागि आग्रह पनि गरेकी थिइन् । उनले नेपाल भारत आर्थिक सम्बन्धको विस्तृत चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह पनि गरेकी छन् ।

मन्त्री राणा नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय माग गर्न गत मङ्सिर २२ मा युरोपतर्फ लागेकी थिइन् । उनले मङ्सिर २४ गते जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट सो अदालतमा कुरा उठाएकी थिइन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्साउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको हो ।



प्रतिक्रिया दिनुहोस्