काठमाडौं, ८ पुष । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले वर्तमान सरकार ढल्ने आधार आफूले नदेखेको स्पष्ट पारेका छन् । उनले भने,‘कांग्रेस र एमालेको अहिलेको सत्ता गठबन्धन संकटमा छ भन्ने मलाई त लाग्दैन् । तर, यो सरकारलाई चौतर्फी घेराउ छ भन्ने चाहीँ म सुन्छु । अहिले सरकार ढल्ने आधार चाहीँ म देख्दिनँ ।’ तर, नेपाली नेताहरुमाथि भर गर्न नसकिने उनको भनाई छ । हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारमाथि संकट नभएको दाबी गरेका हुन् ।
उनले भने,‘तर, नेपालका नेताहरुको भर गर्न सकिँदैन् । शेखर कोइरालाको छटपटी देखिरहनुभएको छ । उहाँ जुनसुकै हदमा जान तत्पुर हुनुहुन्छ अरे भन्ने सुन्दछु । उहाँका हर्कतहरु पनि त्यस्तै छन् । उहाँ सरकार ढाल्न लागेको भन्ने म सुन्छु । उहाँको विगत हेर्ने हो भने त्यो देखिन्छ । जस्तो माओवादीसँग कांग्रेसको गठबन्धन हुँदा यो भएन भन्नुहुन्थ्यो । कोशीमा गएर बबण्डर गर्नुभयो । फर्किएर यहाँ आउनुभयो, फेरि हात (ढोग्दै) यसरी उठाउनुभयो । त्यसपछि लौत भनेर शेरबहादुरले एमालेसँग गठबन्धन गर्नुभयो, फेरि उहाँ हुँदैन भन्नुहुन्छ । त्यहाँभित्रको प्रमुख प्रतिपक्ष उहाँ नै हो । अब उहाँले भोलि पार्टी फुटाउनुभयो र प्रचण्डसँग गठबन्धन गर्नुभयो, रवि लामिछानेका २० सांसदले साथ दिए भने सरकार पनि गयो । गगन थापासँग कति स्ट्रेन्थ छ ? शेखर कोइरालासँग मानिलिउँ ३५ जना रहेछन्, पार्टी फुट्यो नि त ।’
उनले शेखर कोइराला, प्रचण्ड नेतृत्वको माओवादी र रवि लामिछाने नेतृत्वको रास्वपाबीच नयाँ गठबन्धन पनि बन्नसक्ने खुलासा गरे ।