काठमाडौं, ८ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्रपति र उपराष्ट्रपति भैसकेका व्यक्ति फेरि पार्टीको राजनीतिमा फर्किने कुरालाई गलत भनेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको ‘पत्रकार भइरहन कति सहज ?’ विषयक अन्तरक्रियामा बोल्दै नेता रिजालले सम्मानित पदमा पुगेकाहरु फेरि सक्रिय राजनीतिमा आउनु गलत हुने बताएका हुन् ।
उनले भने,‘आज डा. रामवरण यादव नै हुनुहुन्छ यहाँ । त्यसैले एउटा कुरा मलाई भन्न मन लागेको छ । मलाई नेपालको राजनीतिमा अर्को चित्त नबुझेको कुरा–अर्को एउटा राजनीति हामीले सुरु गरेका छौं । भन्दाखेरि अर्को पार्टीको मान्छेलाई भन्यो नभन्नुहोला। मेरै पार्टीको भएको भएपनि म त्यही भन्ने थिएँ । देशको उपराष्ट्रपति भैसकेको मान्छे, पार्टीको राजनीतिमा प्रवेश गर्न थाल्नुभएको छ । पार्टीमा पद सिर्जना गरिँदैछ । देशको राष्ट्रपति भैसकेको मान्छेलाई पार्टीमा नेतृत्व लिनुपर्यो भनेर दबाब र हर्षबढाईं गर्ने पखाईमा साथीहरु हुनुहुन्छ । यो सर्वथा अनिष्टकारी कुरा हुनेछ । मुलुकले त्यहाँसम्म पुर्याईसकेपछि, मुलुकले त्यहाँ रहँदामात्रै होईन, त्यहाँ पछाडिपनि मुलुकको अविभाकक रहन्छ भनेर त्यहाँ पुर्याएको हो । मलाई नेकपा (एमाले) को राजनीतिको फेस एण्ड ब्लडमा प्रवेश गर्न आवश्यक छैन् । सद्भाव मलाई पूर्व राष्ट्रपतिजीप्रति र वर्तमान प्रमप्रति उत्तिनै छ । यदि रिभल्भिंग डोरबाट प्रवेश गरेर अर्को डोरबाट निस्किएर पार्टीको राजनीति गरियो भने गलत हुन्छ ।’
उनले सत्ताले स्वभाविक रूपमा अलि–अलि थिचोमिचो गर्ने काम गर्ने उल्लेख गरे । तर, अहिलेको कांग्रेस र एमाले नेतृत्वको सरकार त्यतातर्फ जान नहुने उनको सुझाव थियो । उनले दुई दलबीच भएको ७ बुँदे सहमतिअनुसार सरकार जानुपर्ने धारणा राखे । हिजो संविधान जारी गर्दा यथेष्ट सहमति गरेबमोजिम अहिले संशोधन गर्ने बेलामा पनि त्यही विधि अपनाइने उनको भनाई छ ।