काठमाडौं, ८ पुष । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उधोग, व्यापार ध्वस्त हुँदै गईरहेको टिप्पणी गरेका छन् । तीन तहको सरकारको मनोमानी कर एवं लुटतन्त्रले उधोगी, व्यापारी, सर्वसधारण लगायत समस्यामा पर्दै गईरहेको उनले बताए ।
काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज आम विद्यार्थी मोर्चाको काठमाडौं उपत्यका बिशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी करको बिरुद्धमा सडक संघर्षको बिकल्प नभएको बताए ।
‘सरकार लुटतन्त्रमा व्यस्त छ । जहाँबाट हुन्छ लुटने धन्दामा लागेको छ । सरकारले उधोगी, व्यापारी, सर्वसधारणलाई लुटिरहेको छ । राज्यको ढुकुटी सिध्याइसकेको सरकार अहिले विदेशीसंग ऋण लिएर त्यसमा पनि लुटने काम गरिरहेको छ । नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर लगाएको छ । हरेक क्षेत्रमा मनोमानी करले सबै क्षेत्र तहसनहस भएको छ । सर्वसधारणले जीवन जिउन कठिन भईरहको छ । तर सरकारले करमाथि कर लगाएर नेपाली जनताको ढाड सेक्ने काम गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने ।
सरकारको मनोमानी कर आंकत, लुटकारी दलतन्त्रको बिकल्प नेपाली जनताले खोजिरहेको बताउदै उनले बैदेशिक रोजगारीमा भईरहेको ठगी धन्दाको बिरुद्धमा अब सडक आन्दोलनको बिकल्प नभएको उनले बताए ।
सरकारको मनोमानी कर आतंक, लुटकारी दलतन्त्र लगायतको विरोधमा यही १४ पुसमा हुने काठमाडौंमा विशेष प्रदर्शनमा सहभागि हुन आजपा अध्यक्ष साहले आह्वान समेत गरेका छन् । आजपाको दोस्रो स्थापना दिवसको अवसरमा काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सोही दिन बिशेष कार्यक्रमका साथै काठमाडौंमा विरोध प्रदर्शन समेत हुने आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले जनाएका छन् ।
बिधार्थी मोर्चाका महासचिव प्रदिप साहको अध्यक्षतामा बसेको उक्त बैठकले सरकारको मनोमानी करविरुद्ध हुने विरोध प्रदर्शनमा व्यापक सहभागिता सहित सफल पार्ने प्रतिबद्धता गरिएको छ ।
यसैबीच आज ललितपुरको कुपणडोलमा आम महिला मोर्चाको टोल कमिटी गठन भएकोछ । पार्टीको केन्द्रीय सचिव एवं उपत्यका बिशेष कमिटीका अध्यक्ष देवी पण्डितको प्रमुख आतिथ्य तथा आम महिला मोर्चाका महासचिव सिमा जयसवाल र उपत्यका अध्यक्ष ममता साहको बिशेष उपस्थितिमा आयोजित उक्त भेलाले सकुन्तला जयसवालको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटी गठन गरेकोछ ।
यस्तै, सरकारको कर आतंक विरुद्ध ललितपुरको सानेपामा आम महिला मोर्चाको टोल कमिटी गठन भएकोछ । महिला मोर्चाको उपत्यका संयोजक ममता साहको बिशेष उपस्थितिमा आयोजित उक्त भेलाले अर्चना ठाकुरको अध्यक्षतामा ४५ सदस्यीय महिला मोर्चाको कमिटी गठन भएको हो । नवगठित कमिटीले पुस १४ गते काठमाडौंमा हुने बिशेष प्रदर्शनमा भव्यरुपमा सफल बनाउँने निर्णय समेत गरेको छ ।