काठमाडौं, ९ पुष । नेकपा (एमाले) का प्रभावशाली युवा नेता राजिव पहारीले आफ्नो पार्टी नआँत्तिएको स्पष्ट पारेका छन् । उनले भने,‘एमाले किन आँत्तिने ? एमालेको लक्ष्य र नारा एउटै छ–सुखी नेपाली, समृद्ध नेपाल । हामी त्यहीअनुसार अघि बढेका छौं ।’
उनले देशमा उद्दण्डता मच्चाउने र आफ्नो व्यक्तिगत स्वार्थको रोटी सेक्ने कुरा आफूहरुलाई स्विकार्य नभएको टिप्पणी गरे । आज (मंगलबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ मा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले एमालेलाई सत्ता गुम्ने कुनै डर नभएको जिकिर गरे ।
उनले भने,‘एमालेलाई सत्ता प्राथमिकताको विषय नै होईन । हाम्रो प्राथमिकता भनेको जनता हो ।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि एमालेले नै ०७९ को निर्वाचनपछि प्रधानमन्त्री बनाएको भएपनि प्रचण्डले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
उनले सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली आउनेबित्तिकै अहिले आर्थिक अवस्थामा सुधार आएको र अर्थतन्त्र चलायमान भएको दाबी पेश गरे । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको बीआरआई फ्रेमवर्क सम्झौतालाई पनि सरकारको सफलतासँग जोडे ।
उनले अहिले विगतभन्दा राम्रो भएको दाबी गरे । उनले प्रधानमन्त्री ओली निकटभविष्यमा नै भारत भ्रमणमा जाने खुलासा गरे । उनले मुलुकमा अस्थिरता चाहनेहरुले सरकार ढल्दैछ भनेर हल्ला चलाएको दाबी गरे ।