काठमाडौं, १२ पुष । उर्जामन्त्री दीपक खड्काले संखुवासभाको सदरमुकाम खाँदबारीबाट उत्तरतर्फ चिनियाँ नाका किमाथांका जोड्ने करिडोर सडक निर्माणको काम द्रुत गतिमा अघि बढाउनको लागि रक्षामन्त्री मानवीर राईसमक्ष आग्रह गरेका छन् । १६२ किलोमिटर दूरी रहेको सो सडक खण्डको निर्माण प्रगति ४० प्रतिशत मात्र छ ।
काम नै नभएपनि मन्त्री खड्काले आज (शुक्रबार) सिंहदरबारस्थित् रक्षामन्त्रालय पुगेर मन्त्री राईको ध्यानाकार्षण गराएका हुन् । कोशी करिडोरको त्रिदेशीय महत्व रहेको उल्लेख गर्दै मन्त्री खड्काले तत्काल ट्रयाक खोल्नेगरि अघि बढ्न मन्त्री राईलाई आग्रह गरेका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको च्याम्ताङमा नेपाली सेनाले गरिरहरको ट्रयाक खन्ने कामको अनुगमन गर्न दलबलसहित पुगेका थिए । तर, अहिले काम सुस्ताएको भन्दै मन्त्री खड्काले सम्बन्धित मन्त्रीको ध्यानाकार्षण गराएका हुन् । मन्त्री खड्का संखुवासभाबाट प्रतिनिधित्व गर्छन् ।
सो क्षेत्रको जनप्रतिनिधि भएको नाताले विकास निर्माणको काममा आफ्नो चासो रहनु स्वभाविक भएको उनको प्रतिक्रिया छ । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘यो कोशी करिडोर त्रिदेशीय महत्वको करिडोर हो । यसबाट भार, नेपाल र चीन तीनवटै देशलाई लाभ हुन्छ, हामीलाई यसको निर्माण चाँडै हुँदा अझ बढि लाभ छ ।’