काठमाडौं, पुस १५ । चिसोबाट जोगिन कोठामा कोइला बालेर सुतेका एक मजदुरको निस्सासिएर मृत्यु भएको छ। बैतडीको पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका कैलाली कैलारी गाउँपालिका–६ का ३७ वर्षीय पुनाराम थारूका निस्सासिएर मृत्यु भएको हो । अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
थारूको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। यसअघि गत मङ्सिर २१ गते पनि पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निस्सासिएर मृत्यु भएको थियो। कोइला बालेर कोठामा सुतेका सुर्नया गाउँपालिका–५ धुलिधारका १४ वर्षीय अपिल बिष्टको मृत्यु भएको थियो।