काठमाडौं, पुस १८ । गुल्मी जिल्ला कारागारमा २५ जनाको क्षमता रहेकोमा तीन गुणाभन्दा बढी कैदीबन्दीहरू बस्न बाध्य छन् । कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरू भोग्नुपरेको र कैदीबन्दीहरुलाई पर्याप्त खेलमैदान नहुनु, आर्थिक उपार्जनका लागि उद्योगहरू खोल्नका लागि पनि समस्या भएको छ ।
२५ जनाको क्षमता रहेको (ङ)वर्गको कारागारमा अहिले १०५ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका प्रमुख रेश्मीराज पन्थीले जानकारी दिए। उनका अनुसार कैदी पुरुष ६९जना, थुनुवा २९ जना, महिला कैदी पाँच जना र थुनुवा दुई जना गरी १०५ जना कारागारमा कैदी बन्दीहरू रहेका छन् ।
भवन पनि जीर्ण रहेकाले समस्याहरू अझ थपिँदै गएको छ भने हाल सम्म दुःख सुख चलाउँदै आएको र अझ कैदीबन्दीहरु थपिए भने समस्या झन विकराल बन्दै जाने पन्थीको भनाइ छ । यस्तै कारागार परिसरमा पानीको समस्या, सेफ्टी ट्याङ्कीको समस्या र सुरक्षा गार्ड भवनको पनि समस्या झेल्न बाध्य भएको उनको भनाइ छ । यता नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागार सुधारगृह जस्तो हुनुपर्नेमा जोड दिए।
कारागारमा पर्याप्तता खेलमैदान, उचित बासस्थान र उद्यमी गर्नेहरूका लागि उद्योग दर्ता नहुनुका साथै उचित व्यवस्था हुनुपर्ने ठाउँमा राज्यको ध्यान नजानु दुःखद भएको उनको भनाइ छ । भवन जीर्ण हुनुले पनि कैदीबन्दीलाई समस्या उत्पन्न हुनाले समयमै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
जिल्ला कारागार गुल्मीमा सिनीयर अहेवको दरबन्दी भएपनि लामो समय सम्म कर्मचारी नहुँदा समस्या झेल्नु परेको र अहिले उक्त समस्याको पनि समाधान भएको प्रमुख पन्थीले बताए ।
२०७७ साल जेठ देखी कर्मचारी स्वास्थ्य मन्त्रालयको काजमै रहँदा बिरामीहरूलाई अस्पतालसम्म लान पनि समस्या आउने गरेको थियो । गत वर्षदेखी उक्त समस्या समाधान भएकाले अहिले कारागारमै स्वास्थ्य परीक्षण हुने गरेकाले सहज भएको उनको भनाइ छ ।