काठमाडौं, २४ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफू माओवादीमा नरहने भन्ने कुरै नआउने स्पष्ट पारेका छन् । उनले माओवादी आफ्नो पार्टी भएको उल्लेख गर्दै यसअघि पार्टी छोडेकाहरु सबैलाई माओवादीमा ल्याउनेगरि पहल थालिएको विश्वास दिलाए ।
ृउनले पार्टीका नेताहरु रुपान्तरण हुन तयार भएको बताएका छन् । उनले पार्टीभित्र आर्थिक पारदर्शीता पहिलो प्राथमिकताका साथ आएकोले सबै नेताहरु सच्चिनको लागि तयार हुनुपर्नेमा जोड दिए । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेताहरुको सम्पत्ति छानबिन गर्ने र कुन कुन नेताले कसरी ठूला महल बनाएर भन्नेबारे पनि छानबिन गरिने घोषणा गरे । उनले माओवादी नसच्चिए देश ठीक नहुनेपनि दाबी गरे ।
उनले अहिले माओवादी सरकारमा नजाने निर्णय भएको पनि सुनाए । उनले भने,‘अहिले हामीले सरकारतर्फ नजर नडुलाउने भनिएको छ । फेरि सरकार ढाल्ने, गठबन्धन बनाउन चलखेल गर्नेतर्फ लाग्ने होईन । अब पहिले आफूलाई सच्याउने, अनि जनतासँग सहकार्य गर्ने, जनतालाई सोध्ने र जनताले भनेअनुसार जाने भन्ने हाम्रो संकल्प छ ।’ अहिले लिएको संकल्प लागु गरिएमात्रै जनताले मान्नेपनि उनको भनाई छ । उनले माओवादी नेताहरुको सम्पत्ति छानबिन हुनेपनि बताए । उनले माओवादी नेताहरुको कमाई के हो र कसरी बाँचेका छन् ? भन्ने कुरा बाहिर आउनेपनि विश्वास दिलाए ।
उनले आफूले उठाएका एजेण्डा पार्टीलाई माथि उठाउनको लागि भएको दाबी गरे । उनले आफूले उठाएका कतिपय विषय अझै बाँकी रहेको भएपनि धेरै विषयलाई लिएर अध्यक्ष प्रचण्डले ठीक छ भनेर धन्यवाद दिएको स्मरण गराए । उनले आफूले कुनै बार्गेनिङ गर्न वा पद माग्नको लागि एजेण्डा नउठाएको स्पष्ट पारे । उनले भने,‘मैले यो कार्यकालमा पनि पद चाहिएकौ छैन भनेको छु । मलाई त जनतामा जाने कुरा हो, एजेण्डाको कुरा हो । सिंगो केन्द्रीय कमिटीले मेरो प्रतिवेदन स्विकारेको छ ।’