वीरगञ्ज, २७ पुष । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन् । मुलुकमा व्याप्त भ्रष्टाचारको विरुद्धमा पार्टीले आज (शनिबार) वीरगञ्जमा आयोजना गरेको शक्ति प्रदर्शन एवम् विरोध सभालाई सम्बोधन गर्ने क्रममा साहले यस्तो आक्षेप लगाएका हुन् ।
अहिलेको सरकारकै संरक्षण र मिलेमतोमा देशमा भ्रष्टाचार बढिरहेको साहको आरोप छ । उनले भने,‘यो सरकारले आँफै भ्रष्टाचारीलाई संरक्षण गरेको छ । भ्रष्टाचारीलाई जोगाउने र बचाउने काम गरेको छ । यसले भ्रष्टाचारीलाई संरक्षणसमेत गरेको छ । म दाबीका साथ भन्छु यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन् ।’
प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रण गर्न पूरै असफल भएको उनको दाबी छ । उनले भने,‘विभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ । तर, ती काण्डको बारेमा कहिल्यै छानबिन हुँदैन। यो देशका ठुला काण्डको फाईल सरकारले लुकाएर राखेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन् । यी लुटेराहरुले देशलाई लुटेर कंगाल बनाईसके, राज्यको ढुकुटी लुटेका छन्, विदेशमा पैसा थुपारेका छन् । यिनीहरुबाट देश समृद्ध हुदैन् ।’ अहिलेको सरकारले नेपाली जनतामाथि विदेशी ऋणको भारी बोकाएको र राज्यको ढुकुटी लुटेर रित्याउने काम गरेको पूर्वमन्त्री साहको आरोप छ ।
सो क्रममा उनले साहले वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारसमक्ष माग गरेका छन् । वीरगञ्जको इतिहास, गौरव र सम्मान फर्काउनको लागि आफ्नो दल शत्तिसालझैं खडा हुने पनि उनको उद्घोष छ । अहिलेका शासक वर्गले वीरगञ्जको गौरवलाई मेटाउन खोजेको उनको आरोप छ । तत्काल वीरगञ्जलाई मुलुकको आर्थिक राजधानी घोषणा नगरिए आजपाले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उनको चेतावनी छ ।
उनले भने,‘शासक वर्गले वीरगञ्जको इतिहास, गौरव अनि सम्मान मेटाउन खोजिरहेका छन् । ती अपराधी शासकहरुको लागि वीरगञ्ज त दुहुना गाईजस्तै भएको छ, यहाँबाट राजस्वमात्रै लिने तर वीरगञ्जको विकासमा कुनै योगदान गरेका छैनन् । हामी वीरगञ्जलाई जसरीपनि देशको आर्थिक राजधानी घोषणा गराएरै छोड्छौं । प्रभु साह त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन तयार छ । मेरो पार्टी तयार छ ।’ साहले वीरगञ्जले मुलुकलाई बुझाएको राजश्वको अनूपातमा विकास नगरिए अब आफूहरुलाई सह्य नहुने चेतावनी दिए ।
उक्त कार्यक्रममा आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा भएको सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, नेताहरु राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, रन्जु साह, बबिता साह लगायतको विशेष सहभागिता रहेको थियो ।